अब मेस्सी जान सक्छन्, हामी रोक्दैनौं : ला लिगा अध्यक्ष

एजेन्सी, मंसिर ४
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख खेलाडी लिओनल मेस्सीले आगामी समर विन्डोमा क्लब छाड्ने विषय चर्चामा छ । १६ वर्षदेखि लगातार ला लिगामा रहँदै आएका उनले क्लब छाडे बार्सिलोना र ला लिगा फुटबलमा कस्तो असर पर्छ भन्नेमा मानिसले चासो व्यक्त गर्न थालेका छन् । सबैले आ–आफ्नै विश्लेषण व्यक्त गरिरहेका छन् ।

धेरैले मेस्सीको बहिर्गमनपछि ला लिगा छाड्दा क्लब बार्सिलोना मात्रै नभएर स्पेनिस फुटबललाई ठूलो आर्थिक क्षति पुग्ने बताउँदै आएका छन् । केही समयअघि मात्रै ला लिगा अध्यक्षले सार्वजनिक रूपमै ‘मेस्सी पैसा छाप्ने मेसिन’ भन्दै चर्चा गरेका थिए । तर, उनै टेबासले त्यसको करिब दुई महिनापछि ‘अब मेस्सीले ला लिगा छाडे कुनै असर नपर्ने’ बताएका छन् ।

टेबासले सन् २०१७ मा नेइमार सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोले ला लिगा छाड्दा धेरैले ला लिगालाई समस्या पर्ने बताए पनि आफूहरूले त्यस्तो महसुस नगरेको बताएका छन् । यदि अब मेस्सीले पनि ला लिगा छाडे खासै असर नपर्ने र ला लिगा मेस्सीको बिदाइ गर्न तयार रहेको अध्यक्षले बताएका छन् । यदि मेस्सीले स्पेन छाड्ने निर्णय गरे उनलाई जान बाटो खुला रहेको टेबासले बताएका छन् ।

‘मेस्सीले बार्सिलोनासँग आफ्नो सम्झौता अवधि पूरा गर्नुपर्छ भन्ने ला लिगाको अडान थियो । यो सिजन सकिँदा उनको त्यो सम्झौता पनि सकिन्छ । यदि उनी स्पेनमा रहन चाँदैनन् भने उनी अब जाँदा हुन्छ । उनी आफ्नो खुसीले स्पेन छाड्न खुला हुँदैछन्,’ टेबासले भनेका छन्, ‘ला लिगा उनको बहिर्गमनका लागि तयार छ ।’

टेबासले मेस्सी जान सक्ने प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले मेस्सी भित्र्याउन यसअघि अवैधानिक प्रयास गरेको पनि बताए । ‘मेस्सीलाई भित्र्याउन सक्ने प्रिमियर लिगको एक मात्रै क्लब म्यानचेस्टर सिटी हो । तर, उनीहरूले नियमबाहिर गएर प्रयास गरिरहेका छन् । यो कुरा मैले मात्रै नभएर सबैले भनिरहेका छन् । मलाई थाहा छ, उनीहरूसँग प्रशस्तै पैसा छ,’ टेबासले भने, ‘तर, हाम्रो चाहना अझै पनि मेस्सीले बार्सिलोनाबाटै करिअर अन्त्य गर्दा राम्रो हुन्छ भन्ने हो ।’

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार २०:२६
Loading...