ग्वार्डिओला बार्सिलोना नफर्किने : सिटीसँग लम्ब्याए सम्झौता

एजेन्सी, मंसिर ४
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रमुख प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग नयाँ सम्झौता गरेका छन् । क्लबले अफिसियल रूपमा जानकारी दिँदै स्पेनिस म्यानेजरसँग आगामी थप दुई वर्षका लागि सम्झौता थपिएको बताएको छ ।

नयाँ सम्झौतासँगै ४९ वर्षीय ग्वार्डिओला अब सन् २०२३ सम्म सिटीमै रहने पक्का भएको छ । उनी सन् २०१६ देखि लगातार सिटीको प्रमुख प्रशिक्षक रहेका छन् । ग्वार्डिओलाको नयाँ सम्झौता जारी सिजनको अन्त्यपछि थप दुई सिजनसम्म लागू हुनेछ । उनले सिटीलाई सिजन २०२२–२३ को अन्त्यसम्म नेतृत्व दिनेछन् ।

पछिल्लो समय ग्वार्डिओला पूर्वक्लब बार्सिलोना सम्हाल्न स्पेन फर्किने चर्चा चलेको थियो । तर, सिटीसँग सम्झौता थपेसँगै उनको स्पेन फिर्तीको सम्भावना तत्काललाई समाप्त भएको छ । ग्वार्डिओलाले आगामी जनवरी विन्डो वा समर विन्डोसम्ममा बार्सिलोनाका कप्तान लिओनल मेस्सीलाई सिटीमा अनुबन्ध गर्ने योजनामा रहेको चर्चा छ ।

सन् २०१६ देखि सिटीमा रहेका ग्वार्डिओलाले आफ्नो नेतृत्वमा विभिन्न सात उपाधि जिताएका छन् । जसमा दुई प्रिमियर लिग, एक एफए कप, तीन इएफएल कप र दुईपटक एफए कम्युनिटी सिल्ड उपाधि जितेका छन् । पाँच वर्षदेखि सिटीमा रहे पनि ग्वार्डिओलाले हालसम्म इंग्लिस टिमलाई युरोपियन च्याम्पियन्स लिग उपाधि भने जिताउन सकेका छैनन् ।

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार १८:४०
Loading...