‘धैर्यको बाँध टुटेपछि’ मेस्सीले यसरी पोखे आक्रोश

एजेन्सी, मंसिर ४
स्पेनिस क्लब बार्सिलोनाका कप्तानसमेत रहेका प्रमुख खेलाडी लिओनल मेस्सीले आफूमाथि लागेका आरोपको विषयमा आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् । लरतर मिडियामा धारणा नराख्ने र नरिसाउने शान्त स्वभावका मेस्सीले यसपटक सार्वजनिक रूपमै आक्रोश पोखेका हुन् । बार्सिलोनाभित्रका समस्या र केही खेलाडीको खराब प्रदर्शनबारे मिडियाले प्रश्न साधेपछि मेस्सीले आफू ‘दिक्क भएको’ र ‘थाकेको’ प्रतिक्रिया दिएका छन् ।

केही समयअघि क्लब छाड्ने निर्णय गरेर पुनः बार्सिलोनामै रहने निर्णय गरेका मेस्सीले यो सिजनपछि क्लब छाड्ने करिब–करिब तय छ । अघिल्ला अध्यक्ष जोसेप मारिया बार्टोमेउले पद छाडे पनि मेस्सी बार्सिलोनामै रहने सम्भावना ज्यादै न्यून मात्रै देखिन्छ ।

हालै अर्जेन्टिनी टोलीमा विश्वकप छनौट खेल खेलेर स्पेन फर्किनेक्रममा मिडियाले विमानस्थलमै मेस्सीलाई घेरेपछि उनले आफ्नो आक्रोश ओकले । पत्रकारले बार्सिलोनामा बढेको समस्या, केही खेलाडीको खराब प्रदर्शनलाई जोडेर प्रश्न गर्दा मेस्सीलाई सह्य भएन ।

केही दिनअघि मात्रै फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानका पूर्वएजेन्ट इरिक ओल्हाट्सले मेस्सीका कारण ग्रीजम्यानको करिअर बार्सिलोनामा खराब बन्दै गएको बताएका थिए । ओल्हाट्सले बार्सिलोनामा ‘मेस्सी राज’ले अन्य राम्रा खेलाडीको भविष्य बिग्रँदै गएको भन्दै अन्तर्वार्ता दिएका थिए । पत्रकारले सोही विषयमा प्रश्न गरेपछि मेस्सी शान्त रहन सकेनन् ।

‘म सधैं क्लबभित्रका सबै चिज र हरेकका लागि समस्या बन्दा थाकिसकेको छु,’ मेस्सीले आक्रोशपूर्ण रूपमा प्रतिक्रिया दिँदै प्रश्न सोधे, ‘के नराम्रा सबै कुराको कारण म नै हुँ ?’

मेस्सीलाई मिडियाले अन्य विषयमा पनि प्रतिक्रिया मागेका थिए । तर, तनावपूर्ण मुद्रामा देखिएका मेस्सीले थप प्रतिक्रिया नदिई विमानस्थलबाट निस्किएको स्पेनिस मिडियाले जनाएका छन् ।

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार १४:४६
Loading...