पोल्यान्डलाई हराए पनि नेदरल्यान्ड्स नेसन्स लिगबाट आउट

काठमाडौं, मंसिर ४
समूह चरणको अन्तिम खेलमा कमब्याक जित निकालेको नेदरल्यान्ड्स युइएफए नेसन्स लिग फुटबलको उपाधि होडबाट आउट भएको छ । गत राति भएको खेलमा नेदरल्यान्ड्सले घरेलु टोली पोल्यान्डमाथि १–२ को कमब्याक जित निकाले पनि उसले अर्को चरणको यात्रा तय गर्न पाएन । सोही समूहको अर्को टोली इटालीले आफ्नो अन्तिम खेल जितेपछि नेदरल्यान्ड्सको अन्तिम चारको यात्रा अवरुद्ध बनेको हो ।

आफ्नो घरेलु मैदानमा पोल्यान्डका लागि खेलको पाँचौं मिनेमै कामिल जोज्वाइकले पहिलो गोल गरेका थिए । सोही गोलको अग्रता बचाएर पोल्यान्ड जिततर्फ अघि बढेको थियो । उसले १ गोलको अग्रता खेलको ७६औं मिनेटसम्म राख्यो ।

तर, त्यसपछि पाहुना टोली नेदरल्यान्ड्सले उत्कृष्ट कमब्याक गर्न सफल भयो । खेलको ७७औं मिनेटमा फरवार्ड मेम्फिस डिपेले गोल गरेर खेल १–१ को बराबरीमा ल्याएका थिए । त्यसपछि ८४औं मिनेटमा जर्जिनिओ विज्नाल्डुमले अर्को गोल गरेपछि नेदरल्यान्ड्सको १–२ को जित पक्का भयो ।

यो हारसँगै पोल्यान्डले भने लगातार दोस्रो हार भोगेको छ । यसक्रममा टोलीका प्रमुख फरवार्ड रोवर्ट लेवान्डोस्कीको प्रदर्शन प्रभावकारी रहेन । टोलीले दुवै खेल हारेर उपाधि होडबाट आउट हुँदा लेवान्डोस्की लगातार गोलविहीन बने ।

पोल्यान्डलाई हराए पनि नेदरल्यान्ड्स नेसन्स लिगको उपाधि होडमा भने रहन सकेन । गत राति नै इटालीले आफ्नो खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई हराएर समूह विजेता बनेपछि नेदरल्यान्ड्सको यात्रा सकिएको हो । यदि इटाली पराजित भएर आफ्नो खेल जित्दा नेदरल्यान्ड्स समूह विजेता बनेर अर्को चरण जाने अवस्था थियो ।

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार ०९:०२
Loading...