डेनमार्कलाई हराउँदै बेल्जियम नेसन्स लिगको अर्को चरणमा

काठमाडौं, मंसिर ४
समूह चरणको अन्तिम खेलमा शानदार जित निकाल्दै बेल्जियम युइएफए नेसन्स लिग फुटबको सेमिफाइनल प्रवेश गरेको छ । गत राति भएको खेलमा बेल्जियमले आफ्नो घरेलु मैदानमा पाहुना टोली डेनमार्कमाथि ४–२ को प्रभावशाली जित निकालेको हो ।

घरेलु मैदानमा बेल्जियमलाई जिताउनेक्रममा खेलको तेस्रो मिनेटमै युरी टिलेमिन्सले पहिलो गोल गरेका थिए । तर, खेलको १७औं मिनेटमा डेनमार्कका लागि जोन्स ओल्डर विन्डले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा बेल्जियम खेलमा हाबी भयो । जहाँ रोमेलु लुकाकुले २ गोल गरे । खेलको ५७औं मिनेटमा लुकाकुले पहिलो गोल गर्दा ६९औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियम ३–१ को सहज स्थितिमा पुगेको थियो ।

खेलको ८६औं मिनेटमा बेल्जियमका खेलाडी नासिर चाडीले आत्मघाती गोल गरेपछि डेनमार्कसँगको अग्रता ३–२ मा छोट्टियो । तर, आत्मघाती गोल खाएको अर्को मिनेटमै बेल्जियमका लागि केभिन डे ब्रुयानेले गोल गरेपछि खेल घरेलु टोलीले ४–२ ले जित्यो ।

यो जितसँगै बेल्जियम लिग ए–समूह २ बाट समूह विजेता बनेर अर्को चरण पुग्दा डेनमार्क र इंग्ल्यान्ड निराश बने । अर्को चरण जान डेनमार्कलाई बेल्जियमविरुद्ध जित अनिवार्य थियो । यी समूहअन्तर्गत गत राति नै इंग्ल्यान्डले आइसल्यान्डलाई ४–० ले हरायो ।

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार ०६:५८
Loading...