हिगुइनका टप–३ खेलाडीमा मेस्सी र रोनाल्डो दुवै परेनन्

एजेन्सी, कात्तिक ३
हाल अमेरिकन क्लब इन्टर मियामीबाट खेलिरहेका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुइनले आफ्नो नजरका टप–३ खेलाडी छनौट गरेका छन् । अस्ति भर्खरको समर विन्डोमा इटालियन युभेन्टस छाडेर अमेरिकन लिगमा पुगेका हिगुइनले एक अन्तर्वार्तामा कुरा गर्दै यो समयका उत्कृष्ट ३ खेलाडीको नाम लिएका छन् ।

उनको रोजाइका उत्कृष्ट ३ खेलाडीमा अर्जेन्टिनी टोलीमा छँदाका पूर्वसहकर्मी लिओनल मेस्सी र युभेन्टसमा छँदाका पूर्वहकर्मी क्रिस्टियानो रोनाल्डो दुवैलाई छुटाएका छन् । हिगुइनले यो समयमका उत्कृष्ट ३ खेलाडीमा जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की, बोरुसिया डर्टमुन्डका अर्लिङ हल्यान्ड र स्पेनिस क्लब रियल मड्रिडका पूर्वसहकर्मी करिम बेन्जेमालाई लिएका छन् ।

‘यतिबेला मेरा लागि पहिलो नम्बरका खेलाडी लेवान्डोस्की हुन् । त्यसपछि हल्यान्ड र मेरा पूर्वसहकर्मी बेन्जेमा । बेन्जेमा जो १२ वर्षदेखि लगातार रियलमा छन्,’ हिगुइनले भनेका छन्, ‘लेवान्डोस्की जो यतिबेला अद्भुत काम गरिरहेका छन् र सबथोक जितिरहेका छन् । हल्यान्ड जसको विशाल भविष्य छ । म उनीबाट चकित हुँदै आइरहेको छु । मेरो विचारमा नयाँ पुस्तामा उनी नम्बर वान स्ट्राइकर हुनेछन् ।’

हिगुइनले मेस्सीसँग अर्जेन्टिनाको टोलीमा सँगै खेले भने क्लब फुटबलमा फरक–फरक क्लबबाट विपक्षी बनेर खेले । रोनाल्डोसँग उनले रियल मड्रिड र युभेन्टसमा सहकर्मी बनेर खेले । तर, हिगुइन यी दुवै खेलाडीलाई एकै दर्जा दिन्छन् ।

‘लियो र क्रिस्टियानोबारे के भन्ने ! मेरो नजरमा दुवै एकै स्तरका खेलाडी हुन् । उनीहरूको स्तरमा कोही छैन । उनीहरूले आधुनिक फुटबलको क्रेज बढाए,’ हिगुइनले भनेका छन्, ‘उनीहरू दुवैसँग मैले एकै समयमा खेले । दुवैसँग खेल्दाका थुप्रै अविष्यरणी क्षण मैले जीवनमा संगालेको छु ।’

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार २०:५६
Loading...