अर्जेन्टिनाको कीर्तिमानी जितपछि उत्साहित मेस्सीको यस्तो सन्देश

एजेन्सी, कात्तिक ३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनौट खेलअन्तर्गत अर्जेन्टिना सुरुआतका ४ खेल सकिँदा अपराजित छ । उसले ३ खेल जितेको छ भने एक खेल बराबरी गरेको छ । अर्जेन्टिना हाल १० अंकसहित दोस्रो स्थानमा छ भने ब्राजिल शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ ।

अर्जेन्टिनाले आज (बुधबार) बिहान चौथो खेलमा पेरुलाई उसकै घरेलु मैदानमा ०–२ ले हरायो । सो खेलमा अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज र लौटारो मार्टिनेजले १–१ गोल गरे । टोलीका कप्तान लिओनल मेस्सीले भने विश्वकप छनौट दौरान दृश्यमा देखिने गरी उच्च प्रदर्शन गर्न सकेका छैनन् । उनले ४ खेलमा पूरै समय खेलिसक्दा मात्रै १ गोल गरेका छन्, त्यो पनि पेनाल्टीमार्फत् ।

पेरुमाथि अर्जेन्टिनाको जित कीर्तिमानी जित थियो । पेरुमाथिको जितसँगै अर्जेन्टिनाले पछिल्लो समय आफ्नो अपराजित यात्रा ११ खेलमा पुराएको छ । साथै, अर्जेन्टिनाले सन् २००० पछि फिफा विश्वकप छनौटमा पहिलोपटक लगातार तीन अवे खेल जितेर कीर्तिमान बनाएको छ । सन् २००० पछि अर्जेन्टिनाले विश्वकप छनौटमा कहिल्यै पनि लगतार तीन अवे खेल जित्न सकेको थिएन । अर्जेन्टिनाले सन् २०१८ को विश्वकपका लागि छनौटको अन्तिम अवे खेल र २०२२ का लागि हुने पछिल्ला दुई अवे गरी लगातार तीन अवे खेल जितेको छ ।

पेरूमाथिको जितपछि कप्तान मेस्सीले निकै खुसी व्यक्त गरेका छन् । साथै, उनले उत्साहित हुँदै अर्जेन्टिना सही दिशामा रहेको सन्देश दिएका छन् । खेलपछि अर्जेन्टिनाको अफिसियल ट्वीटरसँग कुरा गर्दै मेस्सीले युवा खेलाडीका साथ टिम लक्ष्यतर्फ अघि बढिरहेको बताएका छन् । ‘यो जितबाट म खुसी छु, हामी खुसी छौं । हामी जसरी खेलिरहेका थियौं, त्यस आधारमा यो जित आवश्यक थियो,’ मेस्सीले भनेका छन्, ‘आज हामीले सुरुआतबाटै राम्रो खेल्यौं । चाँडै गोल गर्न सफल भयौं । र, खेलमा थुप्रै अवसर बनायौं ।’

मेस्सीले टिम झन्–झन् मजबुत बन्दै गएको भन्दै उत्साहित अभिव्यक्ति दिए । ‘मेरो विचारमा हामीले यो बाटोलाई निरन्तर पछ्याउनुपर्छ, जुन बाटोमा हामी अहिले छौं । हामी अलिअलि गर्दै टिमका रूपमा झन्–झन् मजबुत बन्दै गइरहेका छौं ,’ मेस्सीले थपे, टिमका लागि खेल्दा र जितमा सघाउन पाउँदा म खुसी छु । यी युवा खेलाडीसँग म एकदमै राम्रो अनुभूत गरिरहेको छु ।’

आफ्नो खराब लयप्रति बोल्दै मेस्सीले आफूले अपेक्षा गरेअनुसार गोल गर्न नसके पनि राम्रो गर्न प्रयास गरिरहेको बताए । ‘म यहाँ सधैं आफ्नो उत्कृष्ट प्रदर्शन दिनका लागि आउँछु । र, यो जर्सीमा संघर्ष गर्न म आफूलाई योग्य ठान्दछु,’ मेस्सीले भने ।

आफूले गोल र असिस्ट गर्न नसके पनि टिमलाई सघाउन सधैं तयार हुने मेस्सीले बताए । ‘मैले गोल वा असिस्ट गर्नैपर्छ भन्ने म ठान्दिनँ । म यी कुरा नगरी पनि टिमलाई अघि बढाउन चाहन्छु । यो टिमसँग सुखद् यात्रा तय गर्न र लक्ष्य हाँसिल गर्न चाहन्छु । म एकदमै खुसी र उत्साहित छु कि, हामीले चार खेल सकिँदा राम्रो गरिरहेका छौं ।’

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार १७:४२
Loading...