कतार विश्वकप छनौट : पेरूमाथि अर्जेन्टिनाको सहज जित

काठमाडौं, मंसिर ३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनौट खेलअन्तर्गत अर्जेन्टिनाले आफ्नो चौथो खेलमा सहज जित निकालेको छ । आज बुधबार बिहान भएको खेलमा लिओनल मेस्सीको टिमले पेरुलाई उसकै घरेलु मैदानमा ०–२ गोलअन्तरले हराएको हो । यससँगै अर्जेन्टिना ४ खेल सकिँदा छनौट चरणमा अझैसम्म अपराजित रहेको छ ।

पेरुको घरमा सुरुआतबाटै आक्रामक खेल पस्किएको अर्जेन्टिनाका लागि खेलको १७औं मिनेटमा निकोलास गोन्जालेजले मैदानको माथिल्लो क्षेत्रबाट शक्तिशाली प्रहारमा उत्कृष्ट ढंगले बललाई जाली चुमाएका थिए । सो गोलमा जिओभानी लो सेल्सोले असिस्ट गरेका थिए ।

त्यसछि खेलको २८औं मिनेटमै अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । यसपटक लौटारो मार्टिनेजले वान भर्सेस वानमा पेरुका गोलकिपरलाई पोस्ट नजिकै बिट गरेर सहजै गोल गरे । उनको गोलमा लियान्द्रो पाराडेसले असिस्ट दिएका थिए ।

खेलको २८औं मिनेटमा ०–२ को अग्रता बनाएको अर्जेन्टिनाले त्यसपछि दोस्रो हाफमा समेत थप गोल थप्न सकेन । र, खेल ०–२ ले जित्यो । अर्जेन्टिनाले दोस्रो हाफमा पटक–पटक गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेन । कप्तान मेस्सी कम्तीमा तीन सहज अवरमा चुके । पछिल्लो समय खराब लयबाट गुज्रिरहेका मेस्सीले पेरुविरुद्ध पनि आफ्नो लय पक्रिन सकेनन् ।

अब यो जितपछि अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेको छ । ऊ अंक तालिकाको दोस्रो स्थानमा छ । पराजित पेरु मात्रै १ बनाएर नवौं स्थानमा छ । १२ अंक भएको ब्राजिल शीर्ष स्थानमा छ । ९ अंक भएको इक्वेडर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार ०८:०६
Loading...