विश्वकप छनौट : ब्राजिलले उरुग्वेलाई उसकै घरमा हरायो

काठमाडौं, मंसिर ३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनौट खेलअन्तर्गत भएको आफ्नो चौथो खेलमा ब्राजिलले उरुग्वेमाथि सहज जित निकालेको छ । आज बुधबार बिहान भएको खेलमा पाहुना टोली ब्राजिलले उरुग्वेलाई उसकै घरेलु मैदानमा ०–२ गोलले निराश बनायो ।

घरेलु टोली उरुग्वे खेलको ७१औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । फरवार्ड इडिन्सन काभानी सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए । तर, ब्राजिलले २ वटै गोल भने पहिलो हाफमै गर्न सफल भएको थियो ।

पाहुना टोली ब्राजिलका लागि खेलको ३४औं मिनेटमा अर्थुर मेलाले लामो दूरीबाट कडा प्रहारमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो खेल पहिलो हाफको अन्तिम समय ४५औं मिनेटमा युवा स्टार रिचार्लिसनले गरेपछि ब्राजिलले पहिलो हाफमा ०–२ को सहज अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नभउपछि खेल ब्राजिलले ०–२ ले जित्यो । अब यो जितपछि ब्राजिलले छनौट चरणमा आफ्नो १०० प्रतिशत विजयी यात्रा कायमै राखेको छ । उसले ४ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित उरुग्वे मात्रै ६ अंक जोडेर पाँचौं स्थानमा छ । दोस्रो स्थानको अर्जेन्टिनाको खातामा १० अंक छ ।

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार ०६:४६
Loading...