जर्मनीको ‘रामधुलाइ’ गर्दै स्पेन नेसन्स लिगको अर्को चरणमा प्रवेश

काठमाडौं, मंसिर ३
युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्पेनले जर्मनीलाई बेइज्जतीपूर्ण हारको सिकार बनाएको छ । नेपाली समयअनुसार बुधबार बिहान आफ्नो घरेलु मैदानमा भएको खेलमा स्पेनले पाहुना टोली जर्मनीलाई ६–० को फराकिलो र एककपक्षीय हारको चोट दिएको हो । स्पेनको जितमा युवा स्टार फेर्रान टोरेजले सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक गोल गरे ।

प्रतियोगिताको अर्को चरण जान निर्णायक खेलमा जर्मनी स्पेनसामु निरीह साबित भयो । जर्मनी यतिसम्म निरीह बन्यो कि, उसले खेलभरिमा जम्मा २ पटक मात्रै स्पेनविरुद्ध आक्रमण मुभ बनाएको थियो । उसले स्पेनको पोस्टमा एकपटक पनि अन टार्गेट प्रहार गर्न सकेन । यो खेलपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा जर्मनीले खेलभरिमा एकपटक पनि अन टार्गेट प्रहार गर्न नसकेको २१औं शताब्दीकै सबैभन्दा खराब रेकर्ड बनेको छ ।

जर्मनीमाथि स्पेन यतिसम्म हाबी भयो कि, उसले खेलभरिमा कूल २३ पटक जर्मनीविरुद्ध आक्रमण मुभ बनाउँदा १० पटक त अन टार्गेट प्रहार गरेको थियो । स्पेनले कूल ७० प्रतिशत बल आफ्नो पक्षमा राख्दा ८१२ सफल पास खेलेको थियो । यता, जर्मनीले मात्रै ३० प्रतिशत बलमा पायो । उसले जम्मा ३४९ मात्रै पास पूरा गरेको थियो । यो तथ्यांकबाट पनि स्पेनसँग जर्मनीको प्रदर्शन कतिसम्म खराब थियो भन्ने थाहा हुन्छ ।

स्पेनले पहिलो र दोस्रो हाफमा ३–३ गोल गरेको थियो । पहिलो गोल खेलको १७औं मिनेटमा अल्भारो मोराटाले गर्दा खेलको ३३औं मिनेटमा टोरेजले व्यक्तिगत पहिलो गोल गरे । त्यसपछि ३८औं मिनेटमा रोड्रीले गोल थपेपछि पहिलो हाफमा स्पेन ३–० ले अघि रह्यो ।

त्यसपछि खेलको ५५औं मिनेटमा दोस्रो गोल गरेका टोरेजले ७१औं मिनेटमा अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा स्पेन ५–० को स्थितिमा पुगेको थियो । त्यसछि खेलको ८९औं मिनेटमा मिकेल ओयारजबालले अर्को गोल थपेपछि खेल स्पेनले ६–० ले जित्यो ।

अब यो जितसँगै स्पेन आफ्नो समूहबाट समूह विजेता बनेर अर्को चरण प्रवेश गरेको छ भने जर्मनी समूह चरणबाटै आउट भएको छ । अर्को चरण जान स्पेन र जर्मनी दुवैका लागि अन्तिम खेल निर्णायक रहेको थियो, जसमा स्पेनले बाजी मार्न सफल भयो । स्पेनले कूल ११ अंक बनायो भने दोस्रो स्थानको जर्मनीले ९ अंक बनायो । तेस्रो स्थानको युक्रेनले ६ अंक बनायो । चौथो स्थानको स्वीट्जरल्यान्डको खातामा ३ अंक रह्यो ।

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार ०३:४०
Loading...