क्रोएसियाको घरेलु मैदानमा पोर्चुगलको रोमाञ्चक जित

काठमाडौं, मंसिर ३
युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्रोएसियालाई पोर्चुगलले उसकै घरेलु मैदानमा हराएको छ । नेपाली समयअनुसार बुधबार बिहान क्रोएसियाको घरेलु मैदानमा भएको छैटौं खेलमा पाहुना टोली पोर्चुगलले २–३ को रोमाञ्चक जित निकालेको हो । घरेलु मैदानमा १० खेलाडीमा सीमित भएको क्रोएसियाले सुरुआती अग्रता लिए पनि पाहुना टोली पोर्चुगलले पछि कमब्याक गरेर खेल जितेको हो ।

क्रोएसिया खेलको ५१औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । मार्को रोज दोहोरो पहेंलोका साथ रातो कार्ड खाएर मैदान छाडेका थिए । क्रोएसियाका लागि २ वटै गोल माटेओ कोभिासिचले गरे भने भने पोर्चुगलका लागि रुबेन डियाज नायक बने । उनले टिमका लागि २ गोल गर्दा विजयी गोल पनि उनकै नाममा रह्यो । १ गोल जोआओ फेलिक्सले गरे ।

क्रोएसियाका लागि खेलको २९औं मिनेटमा कोभिसिचले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि पाहुना टोली पोर्चुगल खेलको ५२औं मिनेटमा खेलमा फर्कियो । कप्तान क्रिस्टियानो रोनाल्डोले लामो दूरीबाट हानेको शक्तिशाली फ्रि किक प्रहार क्रोएसियन गोलकिपरले कठिन गरी छेके पनि रिबाउन्ड बलमा सेमेडोको पासमा डियाजले सजिलै गोल गरेपछि खेल १–१ भयो ।

त्यसपछि खेलको ६०औं मिनेटमा पोर्चुगलले खेलमा अग्रता बनायो । यसपटक डिएगो जोटाको पासमा फेलिक्सले सुन्दर गोल गर्दै खेल १–२ बनाए । तर, पोर्चुगलको अग्रता धेरबेर टिक्न सकेन । त्यसको ५ मिनेटमै कोभासिचले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ बनाएपछि खेल बराबरीतर्फ उन्मुख भएको थियो । तर, निर्धारित समयको ९०औं मिनेटमा पोर्चुलका लागि डियाजले व्यक्तिगत दोस्रो र टिमका लागि विजयी गोल गरेपछि खेल पोर्चुगलले २–३ ले जित्यो ।

यो जितले पोर्चुगललाई कुनै उपलब्धि भने भएन । किनभने, ऊ यसअघि नै फ्रान्ससँग आफ्नो घरमा ०–१ ले हारेपछि उपाधि होडबाट आउट भइसकेको थियो । समूह चरणका खेल सकिँदा फ्रान्स १६ अंकसहित समूह विजेता बनेर अर्कोचरण पुग्यो भने पोर्चुगल १३ अंकसहित दोस्रो स्थानमा रह्यो । समान ३–३ अंक भएका क्रोएसिया र स्वीडेन तेस्रो र चौथो स्थानमा रहे ।

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार ०३:२६
Loading...