‘मेस्सीले बार्सिलोना छाड्दा ला लिगालाई केही असर पर्दैन’

एजेन्सी, मंसिर २
स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी ला लिगाको सर्वाधिक सफल खेलाडी हुन् । ला लिागमा मेस्सीका नाममा सर्वाधिक गोल र सर्वाधिक असिस्टको रेकर्ड मात्रै छैन, सबैभन्दा धेरै सिजन ‘सर्वाधिक गोलकर्ता’ बनेर पिचिची अवार्ड जितेको रेकर्ड पनि छ । सन् २००४ देखि लगातार ला लिगा खेलिरहेका उनले ला लिगा उपाधि मात्रै १० पटक जितिसकेका छन्, यो पनि कीर्तिमान नै हो ।

यस्ता कीर्तिमानी खेलाडीले आगामी समर विन्डोमा क्लब छाड्ने करिब–करिब तय छ । मेस्सीले केही समयअघि नै बार्सिलोना छाड्ने निर्णय गरेर पनि सो निर्णय अन्तिम समयमा फिर्ता लिएका थिए । बार्सिलोनासँग उनको सम्झौता जारी सिजनको अन्त्यसम्मका लागि मात्रै छ । नयाँ सम्झौता हुने सम्भावना ज्यादै न्यून छ ।

के मेस्सीले बार्सिलोना छाडेर अन्यत्र गए ला लिगामा यसको असर पर्छ ? यसका पछाडि सबैका आ–आफ्नै धारणा होलान् । सन् २०१८ मा क्रिस्टियानो रोनाल्डो रियल मड्रिड छाडेर इटालियन युभेन्टस जाँदा पनि धेरैले ला लिगालाई घाटा पर्ने बताएका थिए । रोनाल्डो पनि ला लिगाका कीर्तिमानी खेलाडी थिए ।

उनी ला लिगाको ९० वर्षको इतिहासमा सबैभन्दा छोटो अवधिमा सबैभन्दा थोरै खेलबाट सबैभन्दा धेरै गोल र सबैभन्दा धेरै ह्याट्रिक गर्र्ने कीर्तिमानी खेलाडी हुन् । त्यत्ति मात्रै हैन, ला लिगा इतिहासमा आजसम्म पनि सबैभन्दा राम्रो गोल रेट होल्डर खेलाडीको रेकर्ड रोनाल्डोकै नाममा छ । यस मामिलामा उनी बार्सिलोनाका मेस्सीभन्दा धेरै नै अघि छन् ।

यसैबीच, एथ्लेटिको मड्रिड तथा उरुग्वेका लिजेन्ड खेलाडी डिएगो फोर्लानले मेस्सीले बार्सिलोना छाडे पनि ला लिगालाई कुनै असर नपर्ने बताएका छन् । उनले ला लिगाभन्दा ठूलो मेस्सी नरहेको भन्दै खेलाडी आउने–जानेक्रममा कुनै देशको लिगलाई असर नपर्ने बताएका छन् । आफ्नो करिअर दौरान ला लिगामा दुईपटक सर्वाधिक गोलकर्ता बनेर दुईपटक पिचिची र दुवैपटक युरोपियन गोल्डेन बुट जितेका फोर्लानले मेस्सीको विषयमा फरक धारणा राखेका छन् ।

‘मेस्सीले बार्सिलोनामा १६ वर्ष बिताइसके । यति लामो अवधिमा उनले बार्सिलोनालाई सबैथोक जिताए । बार्सिलोना असलमा बार्सिलोना बन्नु र ला लिगाको चर्चा फैलिनुमा उनको ठूलो योगदान छ । यस्तै योगदान क्रिस्यिानो रोनाल्डोको पनि छ, जसले छोटै समयमा धेरैथोक गरेर गए,’ फोर्लानले भनेका छन्, ‘जसरी क्रिस्टियानोले ला लिगा छाड्दा केही भएन, मेस्सीले छाड्दा पनि केही हुँदैन । मेरो विचारमा ला लिगा मेस्सीभन्दा ठूलो छ । खेलाडी आउने–जानेक्रम चलिरहन्छ ।’

फोर्लानले ला लिगाबाट रोनाल्डोपछि मेस्सी पनि गए कोही नयाँ आउने बताए । ‘हिजो मेस्सी र क्रिस्टियानो नहुँदा पनि यहाँ सुपरस्टार खेलाडी थिए, ला लिगामा आजकै जस्तो चर्चा र आकर्षण थियो । क्रिस्टियानो र मेस्सीपछि पनि कोही नयाँ आउँछन् र आफ्नो ठाउँ बनाउँछन्, उनीहरूले छाडेको स्थान खाली भइराख्दैन,’ फोर्लानले भने ।

फोर्लान्ले यो बताएका छन् कि, ला लिगा यहाँसम्म आइपुग्नुमा थुप्रै खेलाडीको योगदान छ । ‘ला लिगासँग ९० वर्षको इतिहास छ । र, यो इतिहास निर्माणमा फरक–फरक समयमा धेरैले योगदान दिएका छन् । यसको कुनै कुनामा मेरो पनि नाम होला,’ फोर्लानले भने, ‘तर, कोही एक वा दुई खेलाडीबिना यस्तो सफल लिग सिद्धिहाल्दैन । कुनै पनि लिग सकिँदैन ।’

मेस्सीले बार्सिलोना छाड्ने भए सम्मानजनक अवथाबाट छाड्नु राम्रो हुने फोर्लान बताउँछन् । ‘बार्सिलोनासँग उनको सम्बन्ध र इतिहास कस्तो छ, त्यो सबैलाई थाहा छ । उनीजस्ता खेलाडीले त्यो ठाउँ छाड्दा एकदमै सम्मानसाथ र खुसीसाथ छाड्नु राम्रो हो । अस्ति भर्खर उनले क्लब छाड्न चाहेका थिए, त्यो केटाकेटीपना थियो,’ फोर्लानले भने ।

मेस्सीले बार्सिलोना छाड्ने निर्णय लिनुमा ठूला उपाधिमा लगातारको असफलता र गत सिजन बार्यन म्युनिखसँगको ८–२ को हार प्रमुख कारण रहेको फोर्लान बताउँछन् । ‘मेस्सी सन् २०१५ पछि च्याम्पियन्स लिगको फाइनल पुग्न सकेका छैनन्, उनका लागि यो ठूलो दबाब र निराशा हो । पछिल्ला वर्षहरूमा उनको टिम जतिपटक आउट भयो, ती सबैपटक अपमानजनक हारहरू थिए । अस्ति भर्खर बार्यनसँगको ८–२ को हारलाई मेस्सीले सहन सकेनन् । लगत्तै उनले क्लब छाड्ने निर्णय रोजे । मलाई लाग्छ, उनमा अझै त्यो हारको चोट आलै छ,’ फोर्लानले भेनका छन्, ‘अरूलाई यस्ता हारले लामो समयसम्म पीडा दिइराख्दैन । तर, उनी त मेस्सी हुन् । उनी र उनीजस्ता ठूला खेलाडीलाई यस्ता हारले ठूलो असर पार्छ ।’

बार्सिलोना च्याम्पियन्स लिगमा बार्यनसँग ८–२ ले हार्नु दुर्घटना मात्रै नभएको फोर्लान बताउँछन् । ‘बार्सिलोना युभेन्टससँग ३–० र रोमासँग ०–३ ले पराजित हुनुलाई मैले दुर्घटना मानेको थिएँ । तर, लिभरपुलसँग ४–० र बार्यनसँग ८–२ ले हार्नुलाई म दुर्घटना मान्न सक्दिनँ,’ फोर्लानले भने, ‘यी नतिजाहरूले बार्सिलोनाको दुर्दशा देखाउँछ ।’

प्रकाशित मिति २ मंसिर २०७७, मंगलवार २१:२१
Loading...