कतार विश्वकप छनौट : उरुग्वे र ब्राजिलको रोमाञ्चक खेल हुँदै

काठमाडौं, मंसिर २
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि साउथ अमेरिकी जोनमा जारी छनौट खेलअन्तर्गत आज रातिदेखि भोलि बिहानसम्म चौथो राउन्डका खेलहरू हुँदैछन् । यी खेलमध्ये एक खेलमा हेभिवेट भिडन्त हुँदैछ, जहाँ उरुग्वे र ब्राजिलको रोमाञ्चक खेल हेर्न पाइनेछ ।

यो खेलका लागि उरुग्वेले ब्राजिललाई आफ्नो भूमिमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार भोलि (बुधबार) बिहान ठीक ४ः४५ बजेबाट सुरु हुनेछ । दक्षिण अमेरिकी क्षेत्रका दुई बलिया टोली आपसमा भिड्ने भएकाले यो खेल निकै प्रतिस्पर्धात्मक हुने पक्का छ ।

हाल अंक तालिकामा ब्राजिल ३ खेलपछि शतप्रतिशत जित निकालेर ९ अंकसहित शीर्ष स्थानमा छ । यता, तीनमध्ये दुई खेलमा जित र एकमा हार व्यहोरेको उरुग्वे भने ६ अंकसहित चौथो स्थानमा रहेको छ । आज उरुग्वे आफ्नो घरमा ब्राजिललाई पहिलो हार चखाएर अंक तालिकामा स्थिति सुधार्ने दाउमा छ ।

ब्राजिलविरुद्ध उत्रिँदा घरेलु टोलीलाई केही समस्या हुनेछ । उसका एक प्रमख फरवार्ड लुइस स्वारेज कोरोना भाइरसबाट संक्रमित बनेपछि नखेल्ने पक्का भएको छ भने थप २ जना खेलाडीपनि संक्रमित छन् । त्यसैगरी, भरपर्दा युवा मिडफिल्डर फेडे भाल्भर्डे पनि चोटका कारण टोलीमै छैनन् ।

यता, पाहुना ब्राजिलको टोलीमा पनि केही समस्या छँदैछ । उरुग्वेविरुद्ध खेल्दा ब्राजिलियन टोलीमा प्रमुख फरवार्ड नेइमार चोटका कारण हुनेछैनन् भने प्रमुख मिडफिल्डरद्वय फिलिपे कोउटिन्हो र कासेमिरो पनि टोलीमा छैनन् । कोउटिन्हो घाइते छन् भने कासेमिरो कोरोना संक्रमणपछि उपचारक्रममा छन् ।

प्रकाशित मिति २ मंसिर २०७७, मंगलवार १४:१०
Loading...