उपाधिको लक्ष्यसहित नेपाल आज बंगलादेशसँग दोस्रो खेल खेल्दै

काठमाडौं, मंसिर २
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसँग दोस्रो खेल खेल्दैछ । बंगलादेश भ्रमणमा रहेको नेपाली टोलीले सातादिने भ्रमण दौरान घरेलु टोलीविरुद्ध दोस्रो खेल खेल्न लागेको हो । यसअघि गत शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग २–० ले पराजित भएको थियो ।

आज हुने खेल यसअघिकै स्थान राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालमा हुनेछ । खेल नेपाली समयअनुसार साँझपख ४ः४५ बजेबाट सुरु हुनेछ । यो मैत्रीपूर्ण प्रतियोगिता भएकाले नेपाल आज दोस्रो खेल जित्दै सिरिजमा फर्किने दाउमा छ । यदि आज नेपालले बंगलादेशलाई निर्धारित ९० मिनेटमा ०–२ ले हराउन सके अघिल्लो खेलको नतिजा जोड्दा २–२ हुन्छ ।

त्यसबेला खेललाई सोझै पेनाल्टी सुटआउटमा लगिनेछ । यदि नेपालले आज पनि खराब नतिजा भोगे उपाधि बंगलादेशले जित्नेछ । तसर्थ, सिरिज उपाधिमा फर्किन नेपालमाथि आज कम्तीमा पनि ०–२ को जित आवश्यक पर्छ । नेपाल आज घरेलु टोलीविरुद्ध खेल र नतिजा दुवै सुधार्ने लक्ष्यसाथ मैदान उत्रिनेछ ।

बंगलादेश र नेपालको खेल बंगलादेशको टिभी ‘टी स्पोटर्ट्स’ र त्यसको अफिसियल युट्युब च्यानलले पनि लाइभ प्रशारण गर्नेछ ।

प्रकाशित मिति २ मंसिर २०७७, मंगलवार १२:११
Loading...