नेसन्स लिगमा आज क्रोएसिया र पोर्चुगलको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, मंसिर २
युइएफए नेसन्स लिग फुटबलमा आज राति केही महत्त्वपूर्ण खेलहरू हुँदैछन् । त्यसमध्ये सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसिया र नेसन्स लिगको साबिक विजेता पोर्चुगल समूह चरणको अन्तिम खेलमा आमनेसामने हुँदैछन् । यो खेल क्रोएसियाको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

समूह ‘सी’ बाट यसअघि नै फ्रान्स विजेता बनेर अर्को चरण पुगिसकेकाले सबै टोलीका लागि अन्तिम खेल अब औपचारिकता मात्रै हुनेछ । अघिल्लो खेलमा पोर्चुगललाई उसकै भूमिमा ०–१ ले हराउँदै फ्रान्स अंकगणितीय रूपमा अन्तिम खेलअगावै समूह विजेता बनेर अर्को चरण पुगिसकेको छ । नेसन्स लिगमा समूह विजेता टोली मात्रै अर्को चरण जाने नियम छ ।

तसर्थ, आज रातिको खेल पोर्चुगलका लागि केवल औपचारिकता मात्रै हुनेछ । यसअघिको उपाधि विजेता पोर्चुगलले आज क्रोएसियालाई हराएर नेसन्स लिगबाट सम्मानजनक बिदाइ लिने सोचमा छ । आज क्रोएसियासँग पोर्चुगल खेल्दा यसै समूहबाट अर्को खेलमा फ्रान्स र स्वीडेनको खेल पनि हुनेछ ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि आज रातिको खेल गोल संख्या बढाउन अवसर हुनेछ । उनले हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा १०२ गोल गरिसकेका छन् । उनी अब कीर्तिमानी इरानी फुटबलर अली डेईको कीर्तिमानी १०९ गोलको रेकर्ड तोड्नबाट मात्रै ८ गोलले टाढा छन् ।

प्रकाशित मिति २ मंसिर २०७७, मंगलवार १०:३७
Loading...