मास्चेरानोले गरे फुटबलबाट सन्यास घोषणा

काठमाडौं, मंसिर १
अर्जेन्टिनाका डिफेन्डर जाभिएर मास्चेरानोले सबैखाले फुटबलबाट सन्यास घोषणा गरेका छन् । एक खेलाडीका रूपमा आफूले अब खेल जीवन अन्त्य गरेको घोषणा उनले सोमबार गरेका हुन् । हाल ३६ वर्ष पुगेका मास्चेरानो पछिल्लो समय आफ्नै देशको क्लबबाट खेल्दै आएका थिए । उनको सन्यास यो सिजनको अन्त्यसँगै लागू हुनेछ ।

मास्चेरानोले आफ्नो करिअर दौरान राष्ट्रिय टोलीका साथै युरोपका ठूला क्लबहरूबाट खेले । उनी आफ्नो समयमा अर्जेन्टिना र बार्सिलोनाका स्टार डिफेन्डरमा पर्थे । दुवै टोलीका लागि उनी पहिलो रोजाइका खेलाडी थिए ।

मास्चेरानोले राष्ट्रिय टोलीबाट आफूलाई खेल्ने अवसर दिएकोमा धन्यवाद भनेका छन् । साथै, देशकै क्लबबाट सन्यास लिने अवसर दिएकोमा पनि धन्यवाद भनेका छन् । ‘मैले निकै निर्ममतापूर्वक फुटबल जीवन अन्त्य गर्ने निर्णय गरेको छु । मलाई अर्जेन्टिनाको टोलीमा खेल्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु । साथै, आफ्नै देशबाट फुटबल करिअर अन्त्य गर्ने अवसर दिएकोमा क्लबलाई पनि धन्यवाद दिन चाहन्छु,’ मास्चेरानोले सन्यास घोेषणा गर्दा भनेका छन् ।

मास्चेरानोले आफ्नो करिअर दौरान क्लब फुटबलमा इंग्लिस क्लब वेस्ट ह्याम, लिभरपुल, स्पेनिस बार्सिलोनासहितका क्लबबाट खेले । उनी सन् २००६ मा लिभरपुलमा अनुबन्ध भएका थिए भने सन् २०१० मा बार्सिलोना पुगेका थिए । मास्चेरानोले बार्सिलोनामा कूल ८ वर्ष बिताए । सिजन २०१७–१८ को अन्त्यसँगै उनी बार्सिलोना छाडेर चिनियाँ क्लब हेबेई चाइना फर्च्युनमा अनुबन्ध भएका थिए । त्यहाँ उनले दुई सिजन बिताएपछि अर्जेन्टिनाकै क्लब इस्टुडियान्टेसमा अनुबन्ध भएका थिए

मास्चेरानोले अर्जेन्टिनाबाट भने सन् २०१८ मै सन्यास घोषणा गरेका थिए । रसियामा भएको फिफा विश्वकपमा अर्जेन्टिना अन्तिम १६ मा फ्रान्ससँग ४–३ ले हारेर प्रतियोगिताबाट आउट भएपछि उनले त्यत्तिबेलै अन्तर्राष्ट्रिय फुटबलमा सन्यास घोषणा गरेका थिए ।

मास्चेरानोले अर्जेन्टिनाबाट करिअरभर कूल १४७ खेल खेल्दै ३ गोल गरे । यता, सबैभन्दा लामो समय बिताएको बार्सिलोनामा उनले ३३४ खेल खेल्दै १ गोल गरे । समग्रमा उनले क्लब फुटबलमा ६४९ खेल खेल्दै ५ गोल गरे ।

मास्चेरानो अर्जेन्टिनाबाट सन् २०१४ को विश्वकपमा उपविजेता बन्दा कोपा अमेरिकामा सन् २००४, २००७, २०१५ र २०१६ गरी चारैपटक उपविजेता मात्रै बने । उनले सन् २००४ र २००८ मा अर्जेन्टिनाबाट उमेर समूहबाट ओलम्पिक खेलकुदमा गोल्ड मेडल जितेका थिए । उनले बार्सिलोनाबाट पाँच ला लिगासहित दुई च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

प्रकाशित मिति १ मंसिर २०७७, सोमबार १८:३६
Loading...