यसरी बन्यो अन्तर्राष्ट्रिय करिअरमा रोनाल्डोका नाममा ‘खराब’ रेकर्ड

काठमाडौं, मंसिर १
समकालीन अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीमध्ये सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी हुन्– पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल नघाउने उनी दोस्रो खेलाडी पनि हुन् । उनले हालसम्म १०२ गोल गरिसकेका छन् । उनी निकट भविष्यमै इरानी फुटबलर अली डेईका नाममा रहेको १०९ गोलको कीर्तिमान तोड्ने संघारमा छन् । साथै, हाल ३५ वर्षका पुगेका रोनाल्डो सबैभन्दा धेरै खेल जित्ने युरोपियन खेलाडी पनि हुन् ।

यस्ता अद्भुत कीर्तिमान भएका रोनाल्डोका नाममा हालसालै एक खराब रेकर्ड पनि बनेको छ । दुई दिनअघि युइएफए नेसन्स लिग फुटबलमा फ्रान्ससँग ०–१ ले पराजित हुँदा रोनाल्डोको आफ्नो करिअरमा कुनै पनि एक टोलीविरुद्ध धेरैपटक खेलेर पनि गोल गर्न नसकेको यो नै पहिलोपटक हो । अर्थात्, रोनाल्डोले आफ्नो करिअरमा अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि एक टोलीविरुद्ध धेरै पटक र धेरै समय खेल्दा पनि गोल गर्न नसकेको खराब रेकर्ड फ्रान्ससँगको खेलपछि बनेको हो ।

रोनाल्डोले हालसम्म फ्रान्सविरुद्ध विभिन्न प्रतियोगिताअन्तर्गत कूल ६ खेल खेलिसकेका छन् । त्यस दौरान उनले मैदानमा फ्रान्सविरुद्ध ४३८ मिनेट खेलिसकेका छन् । तर, आजसम्म फिफा वरीयताको एक हेभिवेट टोलीविरुद्ध उनले १ गोल पनि गर्न सकेका छैनन् । र, रोनाल्डोको करिअरमा कुनै एक टिमविरुद्ध ६ खेलसम्म पनि गोल गर्न नसकेको यो नै पहिलोपटक हो । यति लामो करिअरमा यसअघि उनले ६–६ खेल खेल्दा गोल गर्न नसकेको कुनै देश थिएन । र, अब त्यो देश फ्रान्स बनेको छ ।

रोनाल्डोले फ्रान्सविरुद्ध यसवर्ष मात्रै दुईपटक खेलिसकेका छन्, दुवै खेल नेसन्स लिगमा । अघिल्लो महिना पोर्चुगल फ्रान्सको घरमा उत्रिँदा खेल ०–० मा सकियो भने आफ्नो घरमा खेल्दा पोर्चुगल ०–१ ले पराजित भयो । यी दुवै खेलमा रोनाल्डोले प्रशस्तै गोलका लागि प्रयास गरे पनि गोलविहीन बन्नुपरेको थियो ।

उमेरले चाँडै ३६ वर्ष पुग्न लागेका रोनाल्डोलाई फ्रान्सविरुद्ध गोल गर्ने अवसर अब अर्को वर्ष हुने युरो कपमा हुनेछ । सो प्रतियोगितामा लागि पोर्चुगल र फ्रान्स एकै समूहमा परेका छन् । रोनाल्डोले ती खेलमा फ्रान्सविरुद्ध गोल गरेर आफ्नो खराब रेकर्ड भंग गर्ने सम्भवतः अन्तिम अवसर हुनेछ ।

प्रकाशित मिति १ मंसिर २०७७, सोमबार १८:१०
Loading...