‘बार्सिलोनाले लखेट्दा’ यतिसम्म दुखेको रहेछ स्वारेजको मन …..

एजेन्सी, मंसिर १
अस्ति भर्खर समर विन्डोमा स्पेनिस क्लब बार्सिलोनाबाट बिदा भएका उरुग्वेन फरवार्ड लुइस स्वारेजले क्याम्प नोउ छाडेको विषयमा अभिव्यक्ति दिएका छन् । हाल अन्तर्राष्ट्रिय ड्युटीमा रहेका उनले एक अन्तर्वार्ताक्रममा कुरा गर्दै बार्सिलोनाप्रति निकै ठूलो चित्तदुखाइ गरेका छन् । उनले पूर्वक्लबका साथीभाइलाई सम्झिँदै क्लब सञ्चालकप्रति भने गुनासो गरेका छन् ।

बार्सिलोना छाडेर एथ्लेटिको मड्रिडमा पुगेका स्वारेज सुरुआतबाटै राम्रो लयमा छन् । त्यहाँ उनले आफ्नो स्तरअनुसार प्रदर्शन गरिरहँदा उनको टिम सबै प्रतियोगितामा राम्रो स्थितिमा छ । ठीक बिपरीत उनलाई जबर्जस्त बिदा गरेको बार्सिलोना भने सुरुआतबाटै संघर्ष गरिरहेको छ । कमजोर प्रदर्शनका कारण बार्सिलोनाका खेलाडीको आलोचना बढेको छ । यतिसम्म कि, स्वारेजका घनिष्ठ साथी लिओनल मेस्सी पनि यतिबेला क्याम्प नोउमा खराब स्थितिबाट गुज्रिरहेका छन् ।

बार्सिलोनामा ६ सिजन रहँदा मेस्सी र स्वारेजबीच निकै राम्रो सम्बन्ध थियो । मैदान र बाहिर पनि घनिष्ठ सम्बन्ध रहेकै कारण स्वारेजलाई बेच्ने निर्णयको विरुद्धमा थिए मेस्सी । तर, नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा स्वारेज नहुने भएपछि उरुग्वेन फरवार्ड बाध्य भएर एथ्लेटिको जान बाध्य भए ।

अन्तर्वार्ताक्रममा स्वारेजले आफूलाई बार्सिलोनाले अब मिस नगर्ने बताएका छन् । ‘बार्सिलोना यतिबेला गोलको खडेरीबाट गुज्रिरहेको छ, उनीहरूले तिमीलाई मिस गरिरहेका होलान् नि ?’ भनेर सोधिएको प्रश्नमा स्वारेजले भनेका छन्– ‘सायद उनीहरूले मलाई मिस गर्दैनन् । हरेकसँग आफ्नो सोच हुन्छ । उनीहरूको आफ्नो योजना छ । त्यही योजनाअनुसार मलाई बाहिर बनाए । म अहिले एथ्लेटिकोमा छु । मेरा साथीहरू समस्यामा छन् भन्ने सुन्दा मलाई धेरै नै नराम्रो लाग्छ । तर, हामी त अहिले प्रतिस्पर्धी हौं । मलाई आशा छ, उनीहरूले चाँडै राम्रो गर्न थाल्नेछन् ।’

स्वारेजलाई बार्सिलोना छाड्ने पक्का हुँदा कस्तो अनुभूति भएको थियो भनेर सोधिएको प्रश्नमा उनले भनेका छन्– ‘जब मैले बार्सिलोना छाड्ने पक्का भयो, त्यो दिन र रात म ठूलो पीडामा थिएँ । उनीहरूले अब हामीलाई तिम्रो आवश्यकता छैन भन्दा मैले साँच्चै नै अपमानित भएको महसुस गरें । मैले जीवनका सुनौला ६ वर्ष बिताएको क्लबले त्यस्तो व्यवहार गर्छ भन्ने मैले कहिल्यै सोचिनँ । उनीहरूले मलाई कार्यक्रम आयोजना गरेरै बिदाइ गरे । तर, त्यो एक कारबाहीजस्तो अनुभूति मलाई भएको थियो । बार्सिलोना छाड्नु मेरो करिअरको सबैभन्दा पीडादायी समय हो ।’

एथ्लेटिको मड्रिडमा अब आफू खुसी रहेको र सबै कुरा ठीक हुँदै गएको स्वारेजले बताएका छन् । ‘अहिले म नयाँ यात्रामा छु । एथ्लेटिको एक बलियो टिम हो । म आएपछि थुप्रै कुरामा परिवर्तन आइरहेको छ । यो टिममा राम्रा खेलाडी छन्, जित्ने महत्त्वकांक्षा र योजना छ । मलाई लाग्छ, हामी टिमका रूपमा सबै उपाधिका लागि प्रतिस्पर्धा गर्न सक्छौं । मैले यहाँ राम्रो सुरुआत गरेको छु । प्रशिक्षक र साथीभाइले मलाई राम्रो व्यवहार दिइरहेका छन् । मलाई सघाइरहेका छन् । म उहाँ खुसी छु ।’

प्रकाशित मिति १ मंसिर २०७७, सोमबार १७:३७
Loading...