ग्रीजम्यानद्वारा रोनाल्डोको उच्च प्रशंसा

एजेन्सी, मंसिर १
फ्रान्सको राष्ट्रिय टोलीका प्रमुख फरवार्ड एन्टोनी ग्रीजम्यानले पोर्चुगिज टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । दुई दिनअघि युइएफए नेसन्स लिग फुटबलको समूह चरणको पाँचौं खेलपछि स्पेनिस बार्सिलोनाका खेलाडीले इटालियन युभेन्टसका खेलाडीबारे बोल्दै उनको तारिफ गरेका हुन् । रोनाल्डो र ग्रीजम्यान दुवैले ७ नम्बर जर्सी लगाउँछन् ।

पोर्चुगलको घरेलु मैदानमा भएको सो खेल फ्रान्सले ०–१ ले जितेको थियो । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बनेर अर्को चरण पुग्दा रोनाल्डोको टिम भने समूह चरणबाटै आउट भयो । भलै, दुवै टिमले अन्तिम खेल खेल्न बाँकी छ । तर, यो खेल अब केवल औपचारिकता मात्रै हुनेछ ।

लिस्वन सहरमा भएको खेल दौरान रोनाल्डो र ग्रीजम्यानले खेलपछि कुरा गरेका थिए । उनीहरूले अंकमाल गर्दै कुरा गरेको भिडियो र तस्बिर सार्वजनिक भएका थिए । सो खेलमा रोनाल्डो र ग्रीजम्यान दुवै गोलविहीन बनेका थिए । खेलपछि मिडियालाई प्रतिक्रिया दिँदै ग्रीजम्यानले रोनाल्डो एक अनुकरणीय खेलाडी र सालिन व्यक्तित्व रहेको बताए ।

‘क्रिस्टियानो र मैले क्लब र अन्तर्राष्ट्रिय मञ्चमा थुप्रैपटक एकअर्काविरुद्ध खेलिसकेका छौं । उनीविरुद्ध खेल्नु सधैं विशेष हुन्छ । कठिन पनि उत्तिकै । उनी हुँदा आफ्नो टिम धेरै हदसम्म सुरक्षित र विपक्षी टिम खतरामा हुन्छ । किनभने, उनी आफ्नो टिमका लागि निर्णायक खेलाडी हुन्,’ ग्रीजम्यानले भने ‘टेलिग्राफ’सँग भनेका छन् ।

ग्रीजम्यानले रोनाल्डो अनुकरणीय खेलाडी र एक सालिन व्यक्ति रहेको पनि बताए । रोनाल्डोले ग्रीजम्यानलाई स्पेनमा कस्तो चलिरहेको छ भनेर हालचाल सोधे भने राम्रो गर्न शुभकामना समेत दिएका थिए । ‘खेल सकिएपछि हामीबीच केही समय कुरा भयो । उनले मलाई स्पेनमा कस्तो चलिरहेको छ भनेर सोधे अनि राम्रो गर्नू भन्दै शुभकामना दिए,’ ग्रीजम्यानले थपे, ‘क्रिस्टियानो साँच्चै अनुकरणीय खेलाडी हुन् । उनी एक विजेता र मेहनती खेलाडी मात्रै नभएर एक सालिन व्यक्तित्व पनि हुन् ।’

ग्रीजम्यान र रोनाल्डोले विगतमा विभिन्न टोलीबाट एकअर्काविरुद्ध खेलेका छन् । ग्रीजम्यान रियल सोसिडाडमा हुँदा रोनाल्डो रियल मड्रिडमा थिए । ग्रीजम्यान एथ्लेटिको मड्रिडमा आउँदा रोनाल्डो रियलमै थिए । रोनाल्डो युभेन्टसमा पुग्दा ग्रीजम्यान एथ्लेटिकोमै थिए । यी दुई खेलाडी क्लब फुटबलअन्तर्गत च्याम्पियन्स लिगमा केही समयपछि एकअर्काको सामना गर्नेछन् । त्यसबेला रोनाल्डो युभेन्टसमै हुँदा ग्रीजम्यान भने बार्सिलोनाको जर्सीमा हुनेछन् । यी दुई खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा पनि पटक–पटक एकअर्काविरुद्ध खेलिसकेका छन् ।

प्रकाशित मिति १ मंसिर २०७७, सोमबार १२:४५
Loading...