नेसन्स लिग : विज्नाल्डुम चम्किँदा नेदरल्यान्ड्सको शानदार जित

काठमाडौं, मंसिर १
युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको पाँचौं खेलमा नेदरल्यान्ड्सले पाहुना टोली बोस्निया एन्ड हर्जगोभिनामाथि शानदार जित निकालेको छ । गत राति भएको पाँचौं खेलमा घरेलु टोली नेदरल्यान्ड्सले बोस्नियालाई ३–१ गोलअन्तरले स्तब्ध बनायो ।

नेदरल्यान्ड्सलाई आफ्नो भूमिमा जिताउन जर्जिनियो विज्नाल्डुम नायक बने । उनले मात्रै ८ मिनेटको बीचमा २ गोल गरेर घरेलु टोलीलाई जितको बाटो देखाएका थिए । उनले खेल सुरु भएको छैटौं मिनेटमै पहिलो गोल गरेका थिए । उनले डमफ्रिसको क्रस पासमा सहजै गोल गरेका थिए ।

पहिलो गोल गरेको ७ मिनेटपछि नै विज्नाल्डुमले व्यmिगत दोस्रो गोल गर्न सफल भए । १३औं मिनेटमा यसपटक विज्नाल्डुमले बरघुइसको क्रस हेडिङमा सहजै भली टचमा गोल गरेर बललाई जाली चुमाएपछि खेलमा नेदरल्यान्ड्सले २–० को सहज अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा घरेलु टोलीका लागि मेम्फिस डिपेले तेस्रो गोल हाने । यस गोलमा पनि डमफ्रिसले नै असिस्ट प्रदान गरेका थिए । डिपेले क्रस पासमा सहजै गोल गरेपछि घरेलु टोली ३–० को को अग्रता लिएर अघि बढेको थियो । तर, खेलको ६३औं मिनेटमा स्मेल प्रेभल्जाकले गोल गरेपछि डच टोलीको जित ३–१ मा खुम्चियो ।

यो जितपछि नेदरल्यान्ड्सले ५ खेलबाट ८ अंक जोडेर लिग–ग्रुप १ को दोस्रो स्थानमा छ । अब यस समूहको विजेता बन्न नेदरल्यान्ड्सले अन्तिम खेलमा पोल्यान्डलाई हराउनुपर्छ भने अर्को खेलमा इटाली बोस्नियासँग हार्नुपर्छ वा बराबरीमा रोकिनुपर्छ ।

प्रकाशित मिति १ मंसिर २०७७, सोमबार ०९:४३
Loading...