इटालीसँग पोल्यान्ड निरीह : चलेन लेवान्डोस्कीको जादु !

काठमाडौं, मंसिर १
युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको पाँचौं खेलमा इटालीले पाहुना टोली पोल्यान्डमाथि सहज जित निकालेको छ । गत राति भएको पाँचौं खेलमा घरेलु टोली इटालीले रोवर्ट लेवान्डोस्कीको टोली पोल्यान्डलाई २–० ले स्तध बनायो । इटालीको घरमा पोल्यान्ड खेलभरि नै निरीह देखियो ।

घरेलु मैदानमा इटालीलाई जिताउनेक्रममा २ जना खेलाडीले गोल गरे । खेलको २७औं मिनेटमा इटालीले पेनाल्टी गोलमार्फत् अग्रता बनाएको थियो । पोल्यान्डका खेलाडीले बक्समा इटालीका खेलाडीलाई समातेर लडाएपछि रेफ्रीले पोल्यान्डविरुद्ध पेनाल्टीको मौका दिएका थिए, जसमा जर्जिन्होले सहजै गोल गरेर खेल १–० बनाए ।

इटालीको मजबुत रक्षापंक्तिसामु पोल्यान्ड यति निरीह बन्यो कि, उसले खेलभरिमा इटालीको पोस्टमा जम्मा २ पटक मात्रै आक्रमण बुन्यो । र, एकपटक पनि अन टार्गेट प्रहार गर्न सकेन । जबकि, घरेलु टोली इटालीले खेलभरिमा पोल्यान्डको पोस्टमा कूल १९ पटक आक्रमण बुन्दा ४ प्रहार अन टार्गेट हानेको थियो ।

खेलको ७७औं मिनेटमा पाहुना टोली पोल्यान्ड १० खेलाडीमा झरेको थियो । ज्याक गोराल्स्की दोहोरो पहेंलोका साथ रातो कार्ड पाएर मैदान छाडेपछि पोल्यान्डको खेलमा फर्किने सम्भावना झनै संकटमा परेको थियो ।

पोल्यान्ड १० खेलाडीमा झरेको फाइदा उठाउँदै इटालीले खेलको ८३औं मिनेटमा दोस्रो गोल हानेपछि जित पक्का भएको थियो । यसपटक डोमेनिको बेराडीले बक्स भित्रबाट उत्कृष्ट लो सटमा गोल गरेपछि इटालीले खेल २–० ले जित्यो ।

अब यो जितपछि इटाली लिग ए–ग्रुप १ को शीर्ष स्थानमा चढेको छ । उसले ५ खेलबाट ९ अंक बनाएको छ । ८ अंक भएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । पराजित पोल्यान्ड ७ अंकसहित तेस्रो स्थानमा छ । अब यस समूहको विजेता को बन्ने भन्ने कुरा अन्तिम खेलबाट टुंगो लाग्ने भएको छ । अन्तिम खेलमा इटालीले बोस्निया एन्ड हर्जगोभिना र पोल्यान्डले नेदरल्यान्ड्सँग खेल्ने तालिका छ ।

समूह विजेता बनेर अर्को चरण जान इटालीले आफ्नो खेल जिते पर्याप्त हुन्छ भने पोल्यान्ड अर्को चरण जानका उसले नेदरल्यान्ड्सलाई हराएर इटाली बोस्नियासँग हार्नुपर्छ । हालको स्थितिमा यदि अन्तिम खेलमा इटाली पराजित भयो भने नेदरल्यान्ड्स र पोल्यान्डबीचको खेलमा जसले जिते पनि विजेता टोली समूह विजेता बनेर अर्को चरण जानेछ ।

प्रकाशित मिति १ मंसिर २०७७, सोमबार ०९:२३
Loading...