नेसन्स लिग : इंग्ल्यान्डमाथि बेल्जियमको उत्कृष्ट जित

काठमाडौं, मंसिर १
युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको पाँचौं खेलमा बेल्जियमले पाहुना टोली इंग्ल्यान्डमाथि उत्कृष्ट जित निकालेको छ । गत राति भएको पाँचौं खेलमा घरेलु टोली बेल्जियमले ह्यारी केनको कप्तानीमा रहेको टोलीमाथि २–० को जित दर्ता गरेको हो ।

घरेलु मैदानमा उत्कृष्ट खेल प्रदर्शन गरेको बेल्जियमका लागि खेल सुरु भएको १०औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । इंग्ल्यान्डले मैदानको बीच भागमा आफ्नै गल्तीले बल गुमाएपछि सो बलको काउन्टरमा बेल्जियमले शानदार गोल गरेको थियो । युरीले रोमेलु लुकाकुको पासमा करिब २० यार्ड दूरीबाट प्रहार गरेको शक्तिशाली प्रहार पोलमा लाग्दै अर्को कुनाबाट छिरेको थियो ।

त्यसपछि बेल्जियमले चाँडो गरी नै खेलमा अग्रता दोब्बर बनायो । यसपटक २४औं मिनेटमा ड्रिएस मार्टेन्सले अर्को दर्शनीय गोल गरे । पेनाल्टी बक्सभन्दा थोरै बाहिरबाट उनले हानेको फ्रि किक प्रहारले शानदार ढंगले जाली चुमेको थियो । उनको प्रहार इंग्ल्यान्डका गोलकिपर पिकफोर्डले रोक्न प्रयाससमेत गर्न पाएनन् ।

यता, पहिलो हाफमा बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवा पहाड बनेर उभिए । पाहुना टोली इंग्ल्यान्डका थुप्रै प्रहार उनले विफल पारिदिए । उनले कम्तीमा दुई खतरनाक प्रहार रोकेपछि पाहुना टोलीको पहिलो हाफमा खेलमा फर्किने प्रयास खेर गएको थियो ।

त्यसपछि दोस्रो हाफमा इंग्ल्यान्लडले खेलमा थप सुधार गर्दै खेल पस्कियो । उसले बल ज्यादा आफ्नो पक्षमा राख्दै आक्रमण बढायो । तर, बेल्जियमको मजबुत रक्षापंक्तिसामु इंग्ल्यान्डका फरवार्डको कुनै सिप चलेन । र, खेल बेल्जियमले २–० ले जित्यो ।

अब यो हारसँगै इंग्ल्यान्डको उपाधि होड यही सकिएको छ । विजयी बेल्जियमले भने समूहको अन्तिम खेल डेनमार्कसँग खेलेपछि मात्रै अर्को चरणमा जाने कि नजाने भन्ने टुंगो लाग्नेछ । गत राति नै डेनमार्कले आफ्नो खेलमा आइसल्यान्डलाई हराएपछि बेल्जियमले समूह विजेता बन्न अन्तिम खेलसम्म पखिर्नुपर्ने भएको हो ।

यदि गत राति डेनमार्क आफ्नो खेलमा हारेको भए बेल्जियम गत राति इंग्ल्यान्डलाई हराएपछि नै समूह विजेता बनेर अर्को चरण गइसक्थ्यो । तर, डेनमार्क विजयी हुँदा बेल्जियमले पखिर्नुपर्ने भएको हो । अब ग्रुप ‘बी’को समूह विजेता बन्नका लागि बेल्जियम र डेनमार्कबीच निर्णायक खेल हुनेछ ।

हाल समूह ‘बी’ मा बेल्जियम १२ अंकसहित शीर्ष स्थानमा छ । डेनमार्क १० अंकसहित दोस्रो स्थानमा छ भने इंग्ल्यान्ड ७ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति १ मंसिर २०७७, सोमबार ०८:४२
Loading...