‘मेस्सीले अब दुवै टोलीबाट ठूला उपाधि जित्न सक्दैनन्’

एजेन्सी, कात्तिक ३०
स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी अझै पनि अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीसँग उपाधिविहीन छन् । उनी आफ्नो करिअरमा हालसम्म चारपटक ठूला प्रतियोगिताको फाइनल पुगे पनि अभागी साबित हुँदै आएका मेस्सीको टिम चारपटक नै फाइनलमा पराजित भयो । र, आजसम्म पनि उनका नाममा शून्य उपाधि छ ।

तर, मेस्सी अझै पनि अर्जेन्टिनी टोलीसँग कुनै न कुनै उपाधि जित्ने दौडमै छन् । मेस्सीका लागि अब यो सपना पूरा गर्ने अवसर सन् २०२१ मा हुने कोपा अमेरिका र त्यसपछि २०२२ मा हुने फिफा विश्वकप फुटबल अन्तिम अवसर हुनेछ ।

यता, मेस्सी क्लब बार्सिलोनामा अझै पनि एक च्याम्पियन्स लिग जित्ने दौडमा छन् । उनले यो उपाधि बार्सिलोनासँग चारपटक जितेका छन् । सम्भवतः मेस्सीका लागि पाँचौं च्याम्पियन्स लिग जित्न यो सिजन नै अन्तिम अवसर हो । किनभने, यो सिजनपछि उनले क्लब छाड्ने करिब–करिब तय छ ।

यसैबीच, पोर्चुगलका लिजेन्ड खेलाडी लुइस फिगोले मेस्सीको विषयमा धारणा राखेका छन् । हालै एक अन्तर्वार्तामा कुरा गर्दै फिगोले मेस्सी विश्वका उत्कृष्टमध्येका एक खेलाडी भए पनि उनले अर्जेन्टिनाबाट उपाधि जित्नु अतिआवश्यक रहेको बताए । अन्तर्राष्ट्रिय उपाधिबिना मेस्सीको करिअर सफल र पूर्ण हुन नसक्ने बताए ।

‘मेस्सीको प्रतिभा र फुटबलप्रतिको समर्पणमा कुनै शंका छैन । उनी उत्कृष्टमध्येका एक हुन्, हामी लामो समयदेखि उनको जादुयी प्रतिभा देख्दै आएका छौं । उनले बार्सिलोनासँग सबथोक जितेका छन् । उनीसँग ६ बालोन डि‘ओर र ६ वटा गोल्डेन बुट छन्,’ फिगोले भने, ‘तर, उनले अर्जेन्टिनाबाट आजसम्म उपाधि जित्न सकेका छैनन् । उनीजस्ता अद्भुत खेलाडीले अन्तर्राष्ट्रिय उपाधि जित्न नसक्नु उनको विशाल करिअरको सबैभन्दा ठूलो रिक्तता हुनेछ ।’

फिगोलाई मेस्सीले बाँकी करिअरमा ठूला उपाधि जित्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा त्यो आफूले कठिन देखेको बताए । ‘मेरो विचारमा मेस्सीका लागि अबका दुई वर्ष करिअरका अति नै महत्त्वपूर्ण वर्ष हुनेछन् । उनी यी दुई वर्षमा देशलाई उपाधि जिताएर शान्तिको श्वास फेर्न चाहन्छन्,’ फिगोले भने, ‘तर, मेस्सीले अब ठूला उपाधि जित्ने सम्भावना मैले देखेको छैन, बार्सिलोना र अर्जेन्टिना दुवै टोलीबाट ।’

त्यसैगरी मेस्सीले बार्सिलोना नछाड्नु नै राम्रो हुने पनि फिगोले बताए । ‘मेस्सीको जीवन बार्सिलोनाले बनाएको छ, बार्सिलोनालाई बार्सिलोना बनाउन मेस्सीले जीवन बिताइरहेका छन् । त्यहाँबाट उनले जीवन र करिअरमा सबथोक प्राप्त गरेका छन् । मेरो विचारमा मेस्सीले बार्सिलोनाबाटै करिअर अन्त्य गर्नु धेरै राम्रो हो । किनभने, त्यहाँ उनको गहिरो भावनात्मक सम्बन्ध छ,’ फिगोले भने ।

प्रकाशित मिति ३० कार्तिक २०७७, आईतवार २१:०५
Loading...