‘नेसन्स लिगबाट आउट भएपछि’ रोनाल्डोले लेखे यस्तो सन्देश

काठमाडौं, कात्तिक ३०
युइएफए नेसन्स लिग फुटबलको पहिलो संस्करणको च्याम्पियन पोर्चुगल यसपटक समूह चरणबाटै आउट भयो । गत राति समूह चरणको पाँचौं खेलमा आफ्नो घरेलु मैदानमा आगन्तुक टोली फ्रान्ससँग ०–१ ले हारेपछि पोर्चुगलको उपाधि यात्रा अन्तिम खेल बाँकी छँदै सकिएको हो । विजयी फ्रान्सले पोर्चुगललाई उसकै भूमिमा हराएर समूह विजेता बनेर फाइनलमा फोरमा प्रवेश गरिसकेको छ ।

अहिले दुवै टोलीले अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा यदि अन्तिम खेलमा पोर्चुगलले क्रोएसियालाई हराएर र फ्रान्स आफ्नो अन्तिम खेलमा पराजित भए दुवैको खातामा समान १३–१३ अंक हुनेछ । तर, पोर्चुगल फ्रान्सको घरमा बराबरीमा रोकिएको र आफ्नो घरमा हारेकाले फ्रान्स हेड टु हेडका आधारमा पोर्चुगललाई पछि पारेर अघि बढ्नेछ । अर्थात्, अब अन्तिम खेल बाँकी छँदै फ्रान्स समूह विजेता बनर अर्को चरण पुगिसकेको छ भने पोर्चुगल उपाधि होडबाट आउट भएको छ ।

यसअघि पोर्चुगलले पहिलो संस्करणमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेको थियो । तर, यसपटक उसको यात्रा समूह चरणभन्दा अघि बढ्न सकेन । घरेलु मैदानमा स्पष्ट जित निकाल्न नसक्नु पोर्चुगलका लागि उपाधि होडबाट बाहिरिने प्रमुख कारण बन्यो ।

आफ्नो टिम नेसन्स लिगको उपाधि होडबाट आउट भएपछि टोेलीका कप्तान क्रिस्टियानो रोनाल्डोले सामाजिक सन्जालमार्फत् एक सन्देश लेखेका छन् । इन्स्टाग्राममार्फत् उनले लक्ष्य प्राप्त गन नसकेको कुरा उल्लेख गर्दै आगामी दिनमा शिर उठाएर अघि बढ्ने बताएका छन् । साथै, उनले टिमसँग आजसम्म जित्दै आएका कुरामा आफूहरूले गर्व गर्ने पनि बताएका छन् । रोनाल्डोले फ्रान्ससँगको खेल दौरानका दुई तस्बिरसँगै सन्देशमा लेखेका छन्–

‘हरेक खेलले हामीलाई केही न केही कुरा सिकाउँछ । दुर्भाग्यवश हामीले हाम्रो लक्ष्य प्राप्त गर्न सकेनौं । म मेरो शिर उठाउन चाहन्छु । र, हामीले आजसम्म सँगै जित्दै आएका कुरामा हामी गर्व गर्दछौं ।’

प्रकाशित मिति ३० कार्तिक २०७७, आईतवार १८:१५
Loading...