नेसन्स लिगमा आज बेल्जियम र इंग्ल्यान्डको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, कात्तिक ३०
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज राति एक महत्त्वपूर्ण खेल हुँदैछ, जहाँ फिफा वरीयताका हेभिवेट टोलीहरू बेल्जियम र इंग्ल्यान्ड आमनेसामने हुँदैछन् । यो खेल बेल्जियमको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

बेल्जियम र इंग्ल्यान्ड हाल लिग–ए–ग्रुप २ मा रहेका छन् । यस समूहमा बेल्जियम र इंग्ल्यान्डसँगै डेनमार्क र आइसल्यान्ड रहेका छन् । हाल बेल्जियम ४ मध्ये ३ खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ । इंग्ल्यान्ड ४ खेलबाट ७ अंक बनाएर तेस्रो स्थानमा छ ।

प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लािग बेल्जियम र इंग्ल्यान्डबीच आज रातिको भिडन्त महत्त्वपूर्ण हुनेछ । अर्को चरणमा समूह विजेता टोली मात्रै जाने भएकाले आफ्नो समूहको विजेता बन्न बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा छ । बढी दबाबमा इंग्ल्यान्ड हुनेछ । यदि आज राति बेल्जियमलाई उसकै घरमा पराजित गर्न सके इंग्ल्यान्ड १० अंकसहित समूहको शीर्ष स्थानमा चढ्नेछ । र, उसका लागि यो अर्को चरण जान महत्त्वपूर्ण नतिजा हुनेछ ।

यसअघि इंग्ल्यान्डले बेल्जियमलाई आफ्नो घरमा २–१ ले हराएको थियो । यदि छैटौं चरणका खेल सकिँदा पहिलो र दोस्रो स्थानका टोलीबीच अंक बराबरी भए त्यो बेला हेड टु हेड नतिजा हेरिने हुँदा बेल्जियम र इंग्ल्यान्डका लागि होम र अवे नतिजा पनि निर्णायक हुन सक्ने हुँदा यो खेल महत्त्वपूर्ण हुने पक्का छ । यता, यदि आज राति बेल्जियमले आफ्नो घरमा पाहुना टोलीमाथि स्पष्ट जित निकाल्न सके उसको ऊ आजै राति समूह विजेता बनेर अर्को चरण जानेछ ।

प्रकाशित मिति ३० कार्तिक २०७७, आईतवार १६:२४
Loading...