नेसन्स लिग : वार्नर चम्किँदा जर्मनीको प्रभावशाली जित

काठमाडौं, कात्तिक ३०
युवा स्टार टिमो वार्नर चम्किँदा युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले प्रभावशाली जित निकालेको छ । गत राति भएको खेलमा जर्मनीले आफ्नो घरेलु मैदानमा पाहुना टोली युक्रेनमाथि ३–१ को जित निकाल्यो । आफ्नो घरमा पछि परेको स्थिति उल्टाएर जर्मनीलाई जिताउनेक्रममा वार्नर नायक बने ।

पाहुना टोली युक्रेनले खेलको १२औं मिनेटमा गोल गरेर अग्रता लिएको थियो । उसका लागि रोमन यारेमचुकले गोल गरेका थिए । त्यसपछि जर्मनी खेलमा हाबी भयो । २३औं मिनेटमा जर्मनीका लागि लिरोए सानेले गोल गरेर खेल १–१ बनाएका थिए । त्यसपछि ३३औं मिनेटमा वार्नरले पहिलो गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

त्यसपछि खेलको दोस्रो हाफमा जर्मनीका लागि वार्नरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनी सहज जितर्फ अघि बढेको थियो । खेलको ६३औं मिनेटमा वार्नरले गोल गर्दा खेल जर्मनीले ३–१ ले जित्यो । अब यो जितपछि लिग–ए–ग्रुप ४ मा जर्मनी ५ खेलबाट ९ अंक बनाएर शीर्ष स्थानमा छ । स्पेन ८ अंकसहित दोस्रो स्थानमा रहँदा युक्रेन ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति ३० कार्तिक २०७७, आईतवार ०८:०२
Loading...