‘पेनाल्टी किङ’ रामोसले एकै खेलमा दुई पेनाल्टी चुकाए : स्पेन हारबाट मुस्किलले बच्यो

काठमाडौं, कात्तिक ३०
पेनाल्टी प्रहारमा सबसे राम्रो रेकर्ड भएका सर्जियो रोमासले एकै खेलमा दुईपटक पेनाल्टी मिस गर्दा स्पेन युइएफए नेसन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ । गत राति भएको समूह चरणको पाँचौं खेलमा स्पेनलाई स्वीट्जरल्यान्डले १–१ को बराबरीमा रोकेको हो ।

स्वीट्जरल्यान्डको घरेलु मैदानमा स्पेनका कप्तान रामोसले दुई पेनाल्टी मिस गर्दा स्पेनले स्पष्ट ३ अंक जोड्न पाएन । स्पेन जितबाट वन्चित हुनुमा रामोस प्रमुख कारण बने । क्लब रियल मड्रिड र स्पेनका लागि गरी पछिल्लो समय लगातार २५ पेनाल्टीमा गोल गरेर कीर्तिमान बनाएका रामोसले स्वीट्जरल्यान्डविरुद्ध एकै खेलमा दुईपटक पेनाल्टीमा गोल गर्न असफल भए । गत रातिको खेलबाटै रामोसले अन्तर्राष्ट्रिय फुटबलमा युरोपियन क्षेत्रबाट सर्वाधिक १७७ खेल खेल्दै सर्वाधिक क्यापको रेकर्ड बनाए ।

घरेलु टोली स्वीट्जरल्यान्डका लागि खेलको २६औं मिनेटमा रेमो फ्रेइलरले गोल गर्दै स्पेनलाई झट्का दिएका थिए । त्यसपछि खेलको ५७औं मिनेटमा स्पेनले पेनाल्टी पायो । बक्समा स्वीट्जरल्यान्डका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले स्पेनलाई पेनाल्टी दिएका थिए । तर, रामोसको पेनाल्टी घरेलु टोलीका गोलकिपरले बचाएका थिए ।

त्यसपछि खेलको ८०औं मिनेटमा स्पेनले दोस्रो पेनाल्टी पायो । बक्समा अल्भारो मोराटालाई फउल गरेर लडाएपछि पाएको पेनाल्टीमा रामोस दोस्रोपटक चुकेपछि स्पेनले दोस्रोपटक खेल बराबरी गर्ने मौका खेर फालेको थियो । स्पेन हार नजिक पुगेका बेला खेलको ८९औं मिनेटमा जेरार्ड मोरेनोले गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । र, स्पेन हारबाट बच्यो ।

यो जितपछि स्पेन लिग–ए–समूह ४ को दोस्रो स्थानमा छ । अब स्पेनले आफ्नो अन्तिम खेलमा जर्मनीलाई हराउन सके ऊ अन्तिम चारमा प्रवेश गर्नेछ । स्वीट्जरल्यान्ड भने ५ खेलमा ३ खेलमा बराबरी र २ खेल हारेर ३ अंकसहित सबैभन्दा पुछारमा रहेको छ ।

प्रकाशित मिति ३० कार्तिक २०७७, आईतवार ०७:१९
Loading...