फ्रान्ससँग हारेपछि साबिक विजेता पोर्चुगल नेसन्स लिगबाट आउट

काठमाडौं, कात्तिक ३०
डिफेन्डिङ च्याम्पियन पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै आउट भएको छ । समूह चरणको पाँचौं खेलमा पोर्चुगल आफ्नै घरेलु मैदानमा फ्रान्ससँग ०–१ ले हारेपछि पोर्चुगलको उपाधि होड अन्तिम खेल बाँकी छँदै समाप्त भएको हो । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा फ्रान्सलाई पोर्चुगलको भूमिमा कठिन जित दिलाउन मिडफिल्डर एन्गोलो कान्टेले गरेको १ मात्रै गोल निर्णायक बन्यो ।

निकै प्रतिस्र्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ५३औं मिनेटमा कान्टेले बक्स भित्रबाट सहजै गोल गरे । पोर्चुजि गोलकिपरबाट रिबाउन्ड भएको बलमा कान्टेले हलुका टचमै जाली चुमाएपछि पोर्चुगल खेलमा पछि परेको थियो ।

गोल खाएपछि चर्को दबाबमा परेको पोर्चुगलले त्यसपछि लगातार आक्रामक खेल पस्किएर पटक–पटक गोलका अवसर सिर्जना गरे पनि गोल निकाल्न नसक्दा उसले उपाधि होड समूह चरणबाटै गुमाउन बाध्य भयो । यसअघिको पहिलो संस्करणको नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको थियो ।

उपाधि होडमा रहन पोर्चुगललाई कम्तीमा बराबरी नतिजा आवश्यक थियो । तर, स्पष्ट हारले उसका लागि महँगो पर्न गयो । अब फ्रान्स र पोर्चुगल दुवैले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ । फ्रान्सले आफ्नो अन्तिम खेल क्रोएसियासँग खेल्ने तालिका छ । यदि उसले अन्तिम खेल जित्यो नै भने पनि र फ्रान्स हारे पनि बराबरी अंक हुने हुँदा ‘हेड टु हेड’ का आधारमा फ्रान्स शीर्ष स्थानमै रहेर अर्को चरण जाने पक्का भएको हो । पोर्चुगललाई पराजित गरेको फ्रान्स भने सेमिफाइनल पुग्न सफल भएको छ ।

प्रकाशित मिति ३० कार्तिक २०७७, आईतवार ०३:२६
Loading...