पोर्चुगल भर्सेस फ्रान्स : पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं, कात्तिक ३०
युइएफए नेसन्स लिग फुटबलअन्तर्गत अहिले पोर्चुगल र फ्रान्सबीचको रोमाञ्चक खेल जारी छ । पोर्चुगलको घरेलु मैदान लिस्वन सहरस्थित स्टाडिओ डा लुज रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित ०–० को बराबरीमा सकिएको छ । पहिलो हाफमा दुवै टोलीले थोरै मात्र गोलका अवसर सिर्जना गरे पनि खेलमा गोल निस्कन सकेन ।

खेलमा तुलनात्मक रूपमा पोर्चुगलले केही बढी पकड जमाएर खेलिरहेको छ । पोर्चुगलका लागि खेल सुरु भएको तेस्रो मिनेटमै कप्तान क्रिस्टियानो रोनाल्डोले लामो दूरीबाट हानेको शक्तिशाली प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले निकै कठिन गरी रोकेका थिए । पहिलो हाफको अन्तिम समयमा कर्नर किकमा आएको बलका रोनाल्डोको कडा हेडिङ पोस्टभन्दा थोरै माथिबाट चुक्दा रोनाल्डो निराश बनेका थिए ।

यता, पाहुना टोली फ्रान्स पहिलो हाफमा दुई अवसरमा चुकेको थियो । एकपटक एन्टोनी ग्रीजम्यानको आकर्षक फ्रि किक पासमा फ्रान्सले गोलको मुभ बनाए पनि पोर्चुगिज किपरले त्यो प्रयासलाई असफल पारिदिएका थिए । त्यसपछि अर्कोपटक फ्रान्सका एन्थोनी मार्सियालले बक्समा निकै राम्रो अवस्थामा क्रस पास पाए पनि घरेलु गोलकिपरले फ्रान्सलाई दोस्रोपटक निराश पारिदिएका थिए ।

प्रकाशित मिति ३० कार्तिक २०७७, आईतवार ०२:१७
Loading...