कोम्यान भन्छन्– ‘मेरा लागि हालको टिम उपयुक्त छैन’

एजेन्सी, कात्तिक २९
स्पेनिस फुटबल क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले हालको टोली आफ्ना लागि उपाधि जित्न र जिताउन उपयुक्त नरहेको बताएका छन् । ‘क्याटलान रेडियो’ सँग कुरा गर्दै डच म्यानेजरले टोलीलाई मजबुत बनाउन नयाँ खेलाडी अपरिहार्य रहेको औंल्याएका छन् । कोम्यानले त हालकै टोलीसँग ठूला उपाधि जित्न नसकिने पनि स्पष्ट पारेका छन् ।

यस सिजनको सुरुमा बार्सिलोना सम्हाल्न आइपुगेका कोम्यानले जनवरी विन्डोमा नयाँ खेलाडी अनुबन्ध गर्न चाहेका छन् । यसअघि उनले फ्रन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपे भित्र्याउन प्रयास गरे पनि सकेनन् । बार्सिलोना आउनुअघि नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा कोम्यानले डिपेलाई प्रशिक्षण दिन्थे । अहिले बार्सिलोनामा उनले डिपेलाई लुइस स्वारेजको विकल्पमा भित्र्याउन चाहेको उनी आफैंले पटक–पटक बताइसकेका छन् ।

हाल टोलीमा केही खेलाडी कमी रहेको र नयाँ खेलाडी चाहिने विषयमा धारणा राख्दै कोम्यानले उपाधि जित्न हालको टोली आफूलाई अपुग हुने बताए । ‘नढाँटी भन्नुपर्दा हालको टोली मेरा लागि उपयुक्त छैन । यदि हामी ला लिगा र च्याम्पियन्स लिग जित्न चाहन्छौं भने यो टोलीले पुग्दैन,’ कोम्यानले भनेका छन्, ‘मैले क्लबसँग र बाहिर पनि नयाँ खेलाडी अनुबन्ध गर्ने विषयमा स्पष्ट बताउँदै आएको छु । हामीलाई यथाशक्य चाँडो निश्चित खेलाडी आवश्यक पर्छ ।’

कोम्यानले कप्तान लिओनल मेस्सीको मात्रै अधिकतम् योगदानले टिमलाई उपाधि यात्रामा अघि बढाउने आशा गरेर बस्नु घातक हुने बताए । ‘मेस्सीको प्रतिभा र प्रदर्शनमा मलाई कुनै शंका छैन । उनी हाम्रा लागि सबैभन्दा प्रमुख खेलाडी हुन् । उनले आजसम्म यहाँ जे गरेका छन्, त्यो अद्भुत छ,’ कोम्यानले भने, ‘तर, हामी मेस्सीले केही गर्छन् र हामी उपाधि जित्छौं भनेर अघि बढ्न हामी सक्दैनौं । यो हानिकारक हुनसक्छ । हामीलाई केही खास खेलाडी चाहिएको छ, जसले आवश्यक परेका बेला टिमलाई योगदान दिन सकून् ।’

कोम्यानले लियोनका डिपे आफ्नो योजनामा रहेको बताउँदै २ जना भरपर्दा डिफेन्डरमा पनि चाहिने बताए । ‘म यो लुकाउन चाहन्नँ कि, मेम्फिस डिपेलाई हामी ९ नम्बरका लागि भित्र्याउन प्रयासरत छौं । यसपछि हामीलाई २ जना प्रतिभाशाली डिफेन्डर पनि आवश्यक छ । हामीले खेलाडीको सूची बनाएका छौं । सम्भवतः जनवरी विन्डोमा कोही न कोही आइपुग्नेछ,’ कोम्यानले भने ।

प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार १९:४८
Loading...