रोनाल्डोलाई फ्रान्सविरुद्धको ‘खराब रेकर्ड’ अन्त्य गर्ने अवसर

काठमाडौं, कात्तिक २९
युइएफए नेसन्स लिग फुटबलअन्तर्गत आज राति पोर्चुगल र फ्रान्सको बहुप्रतीक्षित खेल हुँदैछ । पोर्चुगलको लिस्वन सहरस्थित स्टाडिओ डा लुज रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुने सो खेल पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोका लागि भने विशेष हुनेछ ।

रोनाल्डोका लागि बलियो टोली फ्रान्सविरुद्ध अवसर र चुनौती दुवै हुनेछ । किनभने, उनले आज राति घरेलु मैदानमा हुने यो खेलबाट सन् २०१८ को विश्वविजेता फ्रान्सविरुद्धको ‘नो गोल’को खराब रेडर्कलाई अन्त्य गर्ने अवसर छ । करिब दुई दशक लामो करिअर दौरान रोनाल्डोले फ्रान्सविरुद्ध पटक–पटक खेलिसके पनि हालसम्म गोल गर्न भने सकेका छैनन् ।

रोनाल्डोले विभिन्न समयमा विभिन्न प्रतियोगिताअन्तर्गत फ्रान्सविरुद्ध ५ खेल खेलिसकेका छन् । तर, यस दौरान उनले फ्रान्सविद्ध गोलको खाता नै खोल्न सकेका छैनन् । समयका हिसाबले रोनाल्डोले फ्रान्सविरुद्ध मैदानमा कूल ३ सय ८ मिनेट खेलिसकेका छन् । तर, फ्रान्सविरुद्ध उनै अझै पनि गोलविहीन छन् । तर, उनले ३ असिस्ट भने गरेका छन् ।

आज राति आफ्नो भूमिमा खेल्दा रोनाल्डोले फ्रान्सविरुद्ध समग्रमा छैटौं खेल खेल्नेछन् । यसअघि अघिल्लो महिना फ्रान्समै भएको खेल ०–० मा सकिँदा पनि रोनाल्डोले गोल गर्न सकेका थिएनन् । सो खेलमा रोनाल्डोले फ्रान्सविरुद्ध कूल ४ प्रहार गर्दा २ प्रहार अन टार्गेट हानेका थिए । तर, उनले गोल निकाल्न सकेनन् ।

आज राति पाहुना टोलीविरुद्ध खेल्दा रोनाल्डो फ्रान्सविरुद्ध पहिलो गोलको खोजीमा मात्रै हुनेछैनन्, फिफा वरीयताको एक ठूलो टोलीविरुद्ध लगातार गोलविहीनताको यात्रालाई पनि पूर्णविराम लगाउने दाउमा हुनेछन् ।

प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार १८:५५
Loading...