नेसन्स लिगमा आज पोर्चुगल र फ्रान्सको ‘महाभिडन्त’ हुँदै : कसले मार्ला बाजी ?

काठमाडौं, कात्तिक २९
युइएफए नेसन्स लिग फुटबलअन्तर्गत आज राति एक ठूलो भिडन्त हुँदैछ, जहाँ सन् २०१६ को युरो च्याम्पियन पोर्चुगल र सन् २०१८ को विश्व च्याम्पियन फ्रान्स एकअर्काविरुद्ध उत्रिँदैछन् । यो खेलमाथि विश्वभरका फुटबल दर्शकको नजर छ । यो खेलका लागि पोर्चुगलले फ्रान्सलाई आफ्नो भूमिमा स्वागत गर्दैछ । खेल पोर्चुगलको लिस्वन सहरस्थित स्टाडिओ डा लुज रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

नेसन्स लिगमा यी दुई टोली लिग–ए–ग्रुप–३ मा रहेका छन् । हाल अंक तालिकामा ४ खेलपछि पोर्चुगल र फ्रान्स दुवै अपराजित रहेका छन् । दुवै टोलीको समान १०–१० अंक छ । तर, गोलअन्तरमा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगल र फ्रान्स दुवैले ४ खेल खेलिसक्दा ३ खेल जितेर १ खेल बराबरी गरेका छन् ।

पोर्चुगल र फ्रान्सको भिडन्तलाई केवल फुटबल प्रतिस्पर्धाका रूपमा मात्रै हेरिँदैन । यी दुई टोलीबीच खास प्रतिस्पर्धा र इतिहास रहेकाले यस खेललाई ‘प्रतिष्ठा’को खेलका रूपमा पनि लिइन्छ । किनभने, सन् २०१६ को युरो कपको फाइनलमा पोर्चुगलले फ्रान्सलाई उसकै भूमिमा ०–१ ले हराएर एतिहासिक उपाधि जितेको थियो ।

त्यसयता यी दुई टोली अघिल्लो महिना फ्रान्समै भिडेका थिए, पहिलो लेगको खेलमा । आज रातिको खेल पोर्चुगलका लागि होम म्याच र फ्रान्सका लागि अवे म्याच हुनेछ । पोर्चुगल र फ्रान्स दुवै टोलीमा विश्व फुटबलका ठूला–ठूला खेलाडी रहेकाले आज राति ती खेलाडी एकअर्काविरुद्ध उत्रिनेछन् । पोर्चुगलको टोलीबाट कप्तान क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, जोआओ फेलिक्स, बर्नान्डो सिल्भा, डिएगो जोटासहितका खेलाडी आज राति घरेलु मैदानमा उत्रिनेछन् ।

यता, पाहुना टोली फ्रान्सको टोलीमा आज राति युवा स्टार केलिएन एमबाप्पे, एन्टोनी ग्रीजम्यान, पाउल पोग्बा, ओलिभर जिरुउड, एन्गोलो कान्टेसहितका खेलाडी मैदान उत्रिनेछन् । आज रातिको खेल दौरान पार्चुगलका ३६ वर्ष पुग्न लागेका रोनाल्डो र फ्रान्सका २१ वर्षीय एमबाप्पे विशेष आकर्षण बन्नेछन् । एमबाप्पे पोर्चुगिज क्याप्टेन रोनाल्डोलाई आफ्ना आइडल मान्छन् ।

गत महिना फ्रान्सको भूमिमा भएको पहिलो लेगको खेल ०–० मा सकिएको थियो । आज लिस्वनमा यो खेल हुँदा दुवै टोली स्पष्ट जितको खोजीमा हुनेछन् । र, उनीहरूको दाउ एकअर्कालाई हराएर ग्रुप लिडर बन्ने छ । आज राति स्पष्ट जित निकाल्ने टोली अर्को चरण प्रवेशको नजिक पुग्नेछ ।

प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार १४:४२
Loading...