विश्वकप छनौट : घरेलु मैदानमा ब्राजिलको कठिन जित

काठमाडौं, कात्तिक २९
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि साउथ अमेरिकी जोनमा जारी छनौट खेलअन्तर्गत आफ्नो तेस्रो खेलमा ब्राजिलले निकै संघर्षपूर्ण जित निकालेको छ । नेपाली समअनुसार शनिबार बिहान भएको खेलमा ब्राजिलले आफ्नो घरेलु मैदानमा पाहुना टोली भेनेज्वेलामाथि १–० को साँघुरो जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिललाई जिताउन १ मात्रै गोल खेलको ६७औं मिनेटमा रोवेर्टो फर्मिन्होले गरे । फ्रि किक प्रहारबाट आएको बल बक्समा ग्याब्रिएल जेससले हेडिङ गर्न प्रयास गरेका थिए । तर, विपक्षी खेलाडीले बल क्लियर गर्न खोज्दा बल फुत्किएपछि अनमार्क रहेको फर्मिन्होले सहजै गोल गरेका थिए ।

अन्ततः घरेलु टोलीका लागि महत्त्वपूर्ण ३ अंक जोड्न सोही १ गोल पर्याप्त बन्यो । घरेलु मैदानमा केही दबाबमा खेलेको ब्राजिलको टोलीमा यसपटक नेइमार, फिलिपे कोउटिन्हो, कासेमिरोसहितका प्रमुख खेलाडी टोलीमा थिएनन् ।

अब यो जितपछि ब्राजिल सुरुआतका ३ वटै खेल जितेर ९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ७ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ । पराजित भेनेज्वेला ३ वटै खेल हारेर नवौं स्थानमा छ ।

प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार ०८:११
Loading...