विश्वकप छनौट : भिडाल चम्किँदा चिलीको सहज जित

काठमाडौं, कात्तिक २९
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि साउथ अमेरिकी जोनमा जारी छनौट खेलअन्तर्गत आफ्नो तेस्रो खेलमा चिलीले सहज जित दर्ता गरेको छ । नेपाली समअनुसार शनिबार बिहान भएको खेलमा चिलीले आफ्नो घरेलु मैदानमा पाहुना टोली पेरुमाथि २–० को एकपक्षीय जित निकालेको हो ।

घरमा चिलीलाई जिताउन अट्याकिङ मिडफिल्डर अर्टुरो भिडाल नायक बने । टोलीका लागि २ वटै गोल भिडाल एक्लैले गरेका थिए । भिडालले खेलको २०औं मिनेटमा पहिलो गोल गरेका थिए । उनले करिब ३० यार्ड दूरीबाट हानेको शक्तिशाली प्रहारले पोस्टको बार च्यापेर जाली चुमेको थियो । उनले निकै दर्शनीय गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३५औं मिनेटमा भिडालले नै व्यक्तिगत दोस्रो गोल गरे । यसपटक फ्रि किकबाट आएको बलमा बक्सभित्र पेरुका खेलाडीले बल क्लियर गर्न नसक्दा भिडालले हलुका भली प्रहारमा प्रहार गर्दै गोल गरेका थिए । सो गोलपछि घरेलु मैदानमा चिलीले २–० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीले पटक–पटक गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । र, खेल चिलीले २–० ले जित्यो । अब यो जितपछि चिली ३ खेलबाट ४ अंक बनाएर छैटौं स्थानमा चढेको छ । पराजित पेरु ३ खेलबाट मात्रै १ अंक बनाएर आठौं स्थानमा छ ।

प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार ०७:३२
Loading...