विश्वकप छनौट : उरुग्वेद्वारा घरेलु मैदानमा कोलम्बियाको नमिठो धुलाइ !

काठमाडौं, कात्तिक २९
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि साउथ अमेरिकी जोनमा जारी छनौट खेलअन्तर्गत आफ्नो तेस्रो खेलमा उरुग्वेले शानदार जित निकालेको छ । नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा उरुग्वेले कोलम्बियालाई उसकै घरेलु मैदानमा ०–३ को नमिठो हार चखायो ।

अवे मैदानमा उरुग्वेलाई जिताउनेक्रममा ३ जना खेलाडीले गोल गरे । खेल सुरु भएको पाँचौं मिनेटमै इडिन्सन काभानीले गोल गरेर घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए । उनले नान्डेजको पासमा सजिलै गरेका थिए ।

त्यसपछि खेलको ५४औं मिनेटमा उरुग्वेले पेनाल्टी पायो । कोलम्बियन डिफेन्डरले बक्समा खराब ट्याकल गरेपछि रेफ्रीले उरुग्वेलाई पेनाल्टी दिएका थिए, जसमा लुइस स्वारेजले गोल गर्दै घरेलु टोलीविरुद्ध ०–२ को सहज अग्रता दिलाए ।

२ गोलले पछि परेको कोलम्बियाले खेलमा लगातार संघर्ष गरे पनि उसका कुनै प्रयास सफल भएनन् । सोहीक्रममा उरुग्वेका लागि दोस्रो हाफको सुरुआतमै मैदान छिरेका ड्रविन नुनेजले गोल गरेपछि उरुग्वेले कोलम्बियालाई उसकै घरेलु मकैदानमा ०–३ को प्रभावशाली नतिजासहित स्तब्ध बनायो ।

घरेलु टोली कोलम्बिया खेलको ९०औं मिनेटमा १० खेलाडीमा झरेको थियो । डिफेन्डर येरी मिना दोहोरो पहेंलोका साथ रातो कार्ड खाएर मैदान छाडेका थिए ।

अब यो जितपछि उरुग्वे सुरुआती ३ खेलमा २ खेल जितेर ६ अंकसहित अंक तालिकाको चौथो स्थानमा चढेको छ । उसले १ खेल हारेको छ । पराजित कोलम्बिया समान खेलपछि मात्रै ४ अंक बनाएर सातौं स्थानमा रहेको छ । यो हारपछि कोलम्बियाको आगामी यात्रा कठिन बन्ने भएको छ ।

प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार ०६:५०
Loading...