‘फेक न्युज’ फैलाएको भन्दै यसरी खनिए मेस्सीका पिता

एजेन्सी, कात्तिक २८
स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीको सरुवा विषयलाई लिएर झुठा समाचार फैलाएको भन्दै उनका पिताले कडा आलोचना गरेका छन् । मेस्सीका एजेन्टसमेत रहेका पिता जोर्गे मेस्सीले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक रूपमै मेस्सीको सरुवा विषयका समाचार गलत रहेको स्पष्ट पारेका छन् ।

उनका पिताले आक्रोशपूर्ण भनाइ राख्दै गलत कुरा लेख्न र झुठा हल्ला नफैलाउन पनि चेतावनी दिएका छन् । जोर्गेेले मेस्सीको सरुवा समाचार प्रकाशित गर्ने मिडियाका पेजको स्क्रिन सट लिएर त्यसमाथि ‘फेक न्युज’ लेखेर आक्रोश पोखेका छन् । केही दिनअघि विश्वका केही चर्चित खेल मिडियाले मेस्सी बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजी जान लागेको खबर सार्वजनिक गरेका थिए ।

मेस्सीको सरुवालाई लिएर अर्जेन्टिनाकै केही प्रतिष्ठित मिडियाले पनि खबर फैलाएपछि मेस्सीको पिताको ध्यान तानिएको थियो । आफ्ना छोराको भविष्यलाई लिएर सार्वजनिक भएका सरुवा हल्लालाई जोर्गेले ‘फेक न्युुज’ भनेका छन् ।

केही समयअघि बार्सिलोना छाड्ने निर्णय गरेका मेस्सीको भविष्य अहिले पनि चासोको विषय बनेको छ । क्याटलान क्लबसँग उनको सम्झौता जारी सिजनको अन्त्यसम्मका लागि रहेको छ । यो सिजन मेस्सीको प्रदर्शन र क्लबको अवस्थाले मेस्सीको भविष्य स्पेनमा के हुन्छ भन्ने कुरा निर्भर गर्ने देखिएको छ ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार २०:३०
Loading...