घरेलु मैदानमा बंगलादेशले नेपाललाई हरायो : लियो २ वर्षअघिको बदला

काठमाडौं, कात्तिक २८
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत भएको खेलमा बंगलादेशले नेपालमाथि सहज जित निकालेको छ । आज शुक्रबार साँझ भएको खेलमा घरेलु टोली बंगलादेशले पाहुना टोली नेपालमाथि २–० को एकपक्षीय जित निकाल्न सफल भयो ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोलीले पहिलो र दोस्रो हाफमा १–१ गोल हानेर खेल जित्यो । खेल सुरु भएको १०औं मिनेटमै पहिलो गोल खाएको नेपालले त्यसपछि तुलनात्मक रूपमा सुधारिएको र आक्रामक प्रदर्शन गरे पनि उसले गोल गर्न नसक्दा नतिजा घरेलु टोलीलाई जिम्मा लगायो ।

यससँगै बंगलादेशले नेपालसँग दुई वर्षअघि भोगेको हारको बदला लिन सफल भएको छ । सन् २०१८ मा साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज खेलेकै रंगशालामा बंगलादेशलाई ०–२ ले हराएर नमिठो पीडा दिएको थियो । त्यसको दुई वर्षपछि बंगलादेशले नेपाललाई सोही रंगशालामा २–० ले हराएर बदला पूरा गरेको हो ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार १८:४०
Loading...