बंगलादेश भर्सेस नेपाल : पहिलो हाफमा नेपाल १–० ले पछि

काठमाडौं, कात्तिक २८
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत अहिले बंगलादेश र नेपालको खेल जारी छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले पाहुना टोली नेपालविरुद्ध १–० को अग्रता लिएको छ ।

बंगलादेशले नेपालमा पूर्ण पकड जमाएको खेलमा खेल सुरु भएको १०औं मिनेटमै गोल गर्न सफल भएको थियो । नेपालविरुद्धको तेस्रो आक्रमण मुभमा बंगलादेशका लागि नबिब नेवाज जीवोनले गोल गरेका थिए । मैदानको तल्लो क्षेत्रमा आएको बलमा उनले बक्सभित्रबाट प्रहार गर्दै बललाई जाली चुमाएका थिए । ३ जना नेपाली डिफेन्डरले उनलाई रोक्न नसक्दा नेपालले सुरुआतमै गोल खाएको हो ।

पहिलो हाफमा नेपालले पनि केही अवसर बुनेको थियो । तर, नेपाली खेलाडी फिनिसिङमा चुक्दा नेपालले बराबरी गोल निकाल्न सकेन । १ गोल खाएबाहेक नेपाली टोलीका गोलकिपर किरणकुमार लिम्बूले दुई कठिन प्रहार बचाएका थिए । घरेलु टोलीका खेलाडीले किरणलाई लगातार बक्समा व्यस्त बनाएर दबाब सिर्जना गरिरहे ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार १७:३४
Loading...