विश्वकप छनौट : कोलम्बिया र उरुग्वेको रोमाञ्चक खेल हुँदै

काठमाडौं, कात्तिक २८
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि साउथ अमेरिकी जोनमा जारी छनौट खेलअन्तर्गत आज रातिदेखि भोलि बिहानसम्म विभिन्न तीन खेल हुँदैछन् । त्यसमध्ये एक रोमाञ्चक खेलमा कोलम्बिया र उरुग्वेको खेल हुँदैछ । यो खेलका लागि हामेस रोड्रिग्वेजको टिम कोलम्बियाले लुइस स्वारेजको टिम उरुग्वेलाई आफ्नो घरमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार शनिबार बिहानको राति २ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा कोलम्बिया २ खेलमध्ये एकमा जित र एकमा बराबरी गरेर ४ अंकसहित पाँचौं स्थानमा रहेको छ । यता, उरुग्वे २ खेलमध्ये एकमा जित र एकमा हार गरेर ३ अंकसहित छैटौं स्थानमा छ । उरुग्वेलाई यसअघि इक्वेडरले ४–२ ले हराएको थियो ।

आज कोलम्बियाको घरेलु मैदानमा उत्रिँदा उरुग्वे दबाबमा हुनेछ । साउथ जोनमा एक बलियो टोली अघिल्लो खेलमा पराजित भएकाले ऊमाथि आजको खेलमा जित निकाल्नैपर्ने दबाब हुनेछ । यदि यस खेलमा पनि पराजय भोगे उरुग्वेको आगामी यात्रा थप कठिन बन्नेछ ।

आज उरुग्वेविरुद्ध खेल्दा कोलम्बिया स्पष्ट जितको खोजीमा हुनेछ । यदि उसले यो खेलबाट ३ अंक बटुल्न सफल भए ऊ ३ खेलपछि ७ अंक बनाएर ब्राजिलले आफ्नो खेल नखेल्दासम्म दोस्रो स्थानमा चढ्नेछ । तर, पराजित भए उरुग्वेलाई त्यसको फाइदा पुग्नेछ ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार १३:०९
Loading...