अर्जेन्टिनालाई ‘भिएआरले जित्न नदिएको’ भन्दै आक्रोश !

एजेन्सी, कात्तिक २९
कतार विश्वकपका लागि साउथ अमेरिकी जोनमा जारी छनौट खेलअन्तर्गत अर्जेन्टिनाले आज बिहान भएको तेस्रो खेलमा पराग्वेसँग १–१ को बराबरी खेल्यो । आफ्नो भूमिमा अर्जेन्टिनाले पछि परेको स्थितिमा गोल गरेर खेल बराबरी गरेको थियो । घरेलु मैदानमा २ अंक गुमाउनुपर्दा अर्जेन्टिनाका लागि सन्तोषजनक नतिजा थिएन ।

अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले खेलपछि आफूहरूलाई भिएआरले जित्न नदिएको भन्दै रेफ्री र भिएआरमाथि खनिन भ्याए । खेल १–१ भएका बेला दोस्रो हाफको ६०औं मिनेटमा अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सीले गोल गरेका थिए । तर, भिएआरले २ मिनेटपछि सो गोल रद्द गरिदियो । सो गोलको मुभमा पराग्वेका खेलाडीमाथि फउल गरेको भन्दै भिएआरले सो गोललाई मान्यता दिएन ।

६०औं मिनेटमा भएको गोलमा भिएआरले ६२औं मिनेटमा निर्णय गरेर मेस्सीको गोल रद्द गरिदिएको थियो । फउल भने ५८औं मिनेटमै भएको थियो । गोलपछि मेस्सीसहितका अर्जेन्टिनाका खेलाडीले राम्रैसँग सेलिब्रेसन गरिसकेका थिए । तर, भिएआरले गोल खोसिदिएपछि उनीहरू सेलिब्रेसन त्यसै खेर गयो ।

खेलपछि प्रशिक्षक स्कालोनीले खेल दौरान रेफ्रीको निर्णयको आलोचना गर्दै भिएआरले अन्यायपूर्ण निर्णय गरेको भन्दै आक्रोश पोखे । भिएआरको गलत निर्णयका कारण खेलको नतिजा नै प्रभावित भएको उनले बताए । ‘हामी पूर्ण रूपमा जितको हकदार थियौं । तर, हामीलाई भिएआरको प्रयोग गरेर गलत निर्णयबाट पीडित बनाइयो,’ खेलपछि पत्रकार सम्मेलनमा सरिक भएका स्कालोनीले भने, ‘मलाई लाग्दैन, त्यहाँ फउल भएको थियो । त्यो गोल शतप्रतिशत जायज थियो, जुन हामीबाट खोसियो ।’

स्कालोनीले खेल दौरान हुने गलत प्राविधिक निर्णयले खेलको नतिजा नै प्रभावित हुने भन्दै असन्तुष्टि पोखे । ‘लापरबाहीका साथ लिइने यस्ता गलत निर्णयले खेलको नतिजा प्रभावित पार्छ । आज त्यस्तै भयो । हामी यस्ता कुरा कहिल्यै पनि आत्मसाथ गर्न सक्दैनौं,’ स्कालोनीले भने, ‘मेस्सीको गोल रद्द गर्नु गलत निर्णय थियो भन्नेमा हामी अहिले पनि स्पष्ट छौं ।’

आफ्नो भूमिमा पराग्वेसँग बराबरी गर्दै २ अंक गुमाए पनि अर्जेन्टिना ३ खेलपछि ७ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा छ । पराग्वे समान ३ खेलबाट ५ अंकसहित चौथो स्थानमा छ । भोलि हुने आफ्नो खेलमा ब्राजिल विजयी भए ऊ शीर्ष स्थानमा उक्लिनेछ ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार १३:०४
Loading...