विश्वकप छनौट : प्रमुख खेलाडीबिनाको ब्राजिल भेनेज्वेलासँग भिड्दै

काठमाडौं, कात्तिक २८
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि साउथ अमेरिकी जोनमा जारी छनौट खेलअन्तर्गत भोलि बिहान ब्राजिलले भेनेज्वेलासँग प्रतिस्पर्धा गर्दैछ । छनौट चरणको तेस्रो खेल खेल्न ब्राजिलले भेनेज्वेलालाई आफ्नो भूमिमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार भोलि (शनिबार) बिहान ठीक ६ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा ब्राजिल २ खेलमा शतप्रतिशत जित निकालेर ६ अंकसहित दोस्रो स्थानमा छ । एक खेल बेढी खेलेर ७ अंक बनाएको अर्जेन्टिना शीर्ष स्थानमा छ । ब्राजिलविरुद्ध उत्रिन लागेको भेनेज्वेला दुवै खेल हारेर नवौं स्थानमा छ । ब्राजिलको भूमिमा उत्रिँदा भेनेज्वेला पहिलो जितको खोजीमा हुनेछ ।

यस खेलका लागि ब्राजिलियन टोलीमा केही प्रमुख खेलाडी हुनेछैनन् । फिलिपे कोउटिन्हो र नेइमार चोटका कारण यस खेलमा हुनेछैनन् । त्यसैगरी, अर्का प्रमख खेलाडी कासेमिरो कोरोना भाइरसबाट संक्रमित भएकाले यस खेलको टोलीमै छैनन् । यी तीन प्रमुख खेलाडीबिना ब्राजिललाई भेनेज्वेलाविरुद्धको खेल चुनौतीपूर्ण हुने देखिन्छ ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार १३:०१
Loading...