अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै

काठमाडौं, कात्तिक २८
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियन क्षेत्रमा जारी छनौट खेलको पूर्वतयारीका रूपमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यो खेल बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार साँझपख ४ः४५ बजेबाट सुरु हुनेछ । यस प्रतियोगितालाई मुजिब वर्ष ‘फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ नाम दिइएको छ । बंगलादेशसँग नेपालले दुई खेल खेल्नेछ । आज पहिलो खेल भएपछि दोस्रो खेल आउँदो मंसिर २ गते हुने तालिका छ । कोरोना भाइरसको महामारीका कारण नेपालले पछिल्लो ८ महिनायता कुनै पनि खेल खेल्न पाएको छैन ।

नेपाल र बंगलादेशको हेड टु हेड तथ्यांक हेर्दा हालसम्म यी दुई टोलीले कूल १९ पटक खेलेका छन् । जसमा १२ खेलमा नेपाल बंगलादेशले जितेको छ भने नेपालले ६ खेल जित्दा १ खेल भने बराबरीमा सकिएको छ । नेपालले पछिल्लोपटक सन् २०१८ मा बंगलादेशसँग उसकै भूमिमा साफ च्याम्पियनसिपम नेपालले घरेलु टोलीलाई २–० ले हराको थियो ।

आज आफ्नो भूमिमा उत्रिँदा बंगलादेश नेपालसँग दुई वर्षअघिको हारको बदला लिने दाउमा हुनेछ । मैत्रीपूर्ण खेल भए पनि घरेलु टोलीका लागि यो प्रतिष्ठाको खेल हुनेछ । बंगलादेशको घरेलु टोलीका २ जना खेलाडीले कोरोना संक्रमणका कारण आजको खेल गुमाउनेछन् ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार १०:३२
Loading...