कतार विश्वकप छनौट : अर्जेन्टिना घरेलु मैदानमा पराग्वेसँग रोकियो

काठमाडौं, कात्तिक २८
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि साउथ अमेरिकन जोनमा जारी छनौट खेलअन्तर्गत अर्जेन्टिना आफ्नो तेस्रो खेलमा बराबरीमा रोकिएको छ । आज शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना पाहुना टोली पराग्वेसँग १–१ को बराबरीमा रोकिएको हो ।

ला बोम्बोनेरा रंगशालामा भएको खेलमा अर्जेन्टिनाले पछि परेको स्थितिमा गोल गरेर हार पन्छायो । घरेलु मैदानमा चर्को दबाबमा परेर खेलेको अर्जेन्टिना खेलको २१औं मिनेटमा गोल खाएर पछि परेको थियो । अर्जेन्टिनी डिफेन्डरले बक्सभित्र विपक्षी खेलाडीमाथि खराब फउल गरेर लडाएपछि रेफ्रीले पराग्वेलाई सोझै पेनाल्टी दिएका थिए, जसमा एन्जल रोमेरोले सहजै गोल गर्दै घरेलु टोलीविरुद्ध टिमलाई ०–१ को अग्रता दिलाए ।

तर, खेलको ४१औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो । निकोलास गोन्जालेजले कर्नर किकबाट आएको बलमा हेडिङमार्फत् उत्कृष्ट गोल गरेर खेललाई १–१ मा फर्काएका थिए । सो गोलमा जिओभानी लो सेल्सोले कर्नर प्रहार गरेका थिए ।

दोस्रो हाफमा अर्जेन्टिना अभागी रह्यो । खेलको ६०औं मिनेटमा कप्तान लिओनल मेस्सीले बक्स भित्रबाट लो सटमा उत्कृष्ट गोल गरेका थिए । तर, सो गोलको मुभमा अर्जेन्टिनी खेलाडीले पराग्वेन खेलाडीमाथि बक्स लाइनमा फउल गरेको पाइएपछि भिएआरले मेस्सीको गोल रद्द गरिदिएको थियो । गोलपछि मेस्सीले सहकर्मीसँग लामै सेलिब्रेसन गरिसकेका थिए । तर, भिएआरले गोल खोसेपछि मेस्सी निराश बने ।

त्यसपछिको बाँकी समयमा दुवै तर्फबाट गोलका लागि केही प्रयास भए पनि गोल निस्कन सकेन । र, खेल १–१ को बराबरीमा सकियो । अब यो बराबरीपछि अर्जेन्टिना ३ खेलबाट ७ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । एक खेल कम खेलेर ६ अंक भएको ब्राजिल दोस्रो स्थानमा छ । पराग्वे ३ खेलबाट ५ अंक बनाएर चौथो स्थानमा चढेको छ ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार ०७:५२
Loading...