अर्जेन्टिना भर्सेस पराग्वे : पहिलो हाफमा १–१ को बराबरी

काठमाडौं, कात्तिक २८
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि साउथ अमेरिकन जोनमा जारी छनौट खेलमा अहिले अर्जेन्टिना र पराग्वेको खेल जारी छ । अर्जेन्टिनाको घरेलु मैदानमा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।

ला बोम्बोनेरा रंगशालामा भइरहेको खेलमा पराग्वेले पेनाल्टी गोलमार्फत् पहिला खेलमा अग्रता लिएको थियो । खेलको २१औं मिनेटमा अर्जेन्टिनी डिफेन्डरले बक्सभित्र खराब फउल गरेर लडाएपछि रेफ्रीले सोझै पाहुना टोलीलाई पेनाल्टीको मौका दिएका थिए, जसमा एन्जल रोमेरोले सहजै गोल गर्दै घरेलु टोलीलाई ०–१ को झट्का दिए ।

तर, खेलको ४१औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो । निकोलास गोन्जालेजले कर्नर किकबाट आएको बलमा उत्कृष्ट हेडिङमार्फत् गोल गरेपछि खेल १–१ मा फर्काएका थिए । सो गोलमा लो सेल्सोको असिस्ट थियो ।

आफ्नो घरमा अर्जेन्टिना पहिलो हाफमा निकै दबाबमा देखिएको छ । कप्तान लिओनल मेस्सी र लौटारो मार्टिनेजसहितका खेलाडी सुरुआतबाटै खेले पनि अर्जेन्टिनाले पहिलो हाफमा पराग्वेविरुद्ध ४०औं मिनेटसम्म एकपटक पनि अन टार्गेट प्रहार गर्न सकेको थिएन ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार ०६:३७
Loading...