नेइमारबाट १० मिलियन फिर्ता लिन मुद्दा हाल्ने बार्सिलोनाको तयारी

काठमाडौं, कात्तिक २७
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना पूर्वखेलाडी ब्राजिलियन नेइमारबाट १० मिलियन युरो रकम फिर्ता लिन कानुनी कदम चाल्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार बार्सिलोनाले गलत कर हिसाबले गर्दा नेइमारलाई १०.२ मिलियन युरो बढी रकम बढी तिरेको भन्दै सो रकम फिर्ता लिन मुद्दा हाल्ने तयारी गरेको हो ।

सन् २०१७ मा नेइमार विश्वकीर्तिमानी २२२ मिलियन युरोमा फ्रेन्च क्लब पिएसजी गएदेखि नै यी दुई पक्षबीच कानुनी किचलो चलिरहेको छ । केही समयअघि मात्रै नेइमारले आफूले पाउनुपर्ने रकम नपाएको भन्दै बार्सिलोनाविरुद्ध मुद्दा दायर गरेका थिए । सो मुद्दा अझै छिनोफानो हुन बाँकी नै छ ।

बार्सिलोनाले नेइमार क्लबमा रहँदा नै करको गलत हिसाबका कारण उनलाई दिनुपर्ने भन्दा १०.२ मिलियन युरो रकम बढी गएकाले सो रकम फिर्ता गराउन सक्रिय भएको हो । नेइमारले समझदारीमा सो रकम फिर्ता गर्न अस्वीकार गरेपछि बार्सिलोनाले कानुनी कदम चाल्ने तयारी गरेको बार्सिलोना निकट मानिने स्पेनको चर्चित पत्रिका ‘मुन्डो डेपोर्टिभो’ ले जनाएको छ ।

प्रकाशित मिति २७ कार्तिक २०७७, बिहीबार २१:३९
Loading...