रोनाल्डोलाई ‘पुरानो घर’ फर्काउन छलफल सुरु !

एजेन्सी, कात्तिक २७
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई लिएर अहिले फुटबलको सरुवा बजारमा विभिन्न चर्चा छाएका छन् । यो सिजनको अन्त्यपछि उनलाई इटालियन क्लब युभेन्टसले बेच्ने विकल्प खुला गरेको विभिन्न रिपोर्ट आइरहेका छन् । ३६ वर्ष नजिक पुगेका रोनाल्डोको सम्झौता क्लबसँग सिजन २०२१–२२ को अन्त्यसम्मका लागि रहेको छ ।

यसैक्रममा, पाँचपटकका बालोन डि‘ओर विजेता रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किन सक्ने सम्भावना खुला भएको चर्चा छाएको छ । प्रिमियर लिगका सर्वाधिक प्रभावशाली र कीर्तिमानी खेलाडीमध्येमा पर्ने रोनाल्डोले विगतमा ओल्ड ट्राफोर्डमा ६ वर्ष बिताएका थिए । सो दौरान उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिगसहित एक बालोन डि‘ओर अवार्ड पनि जितेका छन् ।

यदि रोनाल्डो र युभेन्टसबीच एकअर्काविरुद्ध क्लब छाड्न र बेच्न सहमति बने रोनाल्डोको नयाँ गन्तव्यका रूपमा केही क्लब विकल्पमा छन् । तीमध्ये सबैभन्दा सम्भावित भनेको युनाइटेड र फ्रेन्च क्लब पिएसजी रहेका छन् । यदाकदा रोनाल्डो पूर्वक्लब स्पेनिस रियल मड्रिड फर्किन सक्ने चर्चा पनि छ । तर, यो सबैभनदा कम सम्भावना भएको विकल्प हो ।

रिपोर्टअनुसार युनाइटेडले कुनैबेलाका आफ्नो प्रमुख खेलाडी रोनाल्डोलाई सम्मानपूर्वक फर्काउन सक्नेछ । रोनाल्डोका एजेन्ड जोर्गे मेन्डेज र युनाइटेडबीच अहिले आन्तरिक रूपमा रोनाल्डो फर्काउने विषयमा छलफलमा रहेको चर्चा छ । युनाइटेड ३६ वर्ष पुग्न लागेका रोनाल्डोलाई ‘सम्मानित ट्रान्सफर’का रूपमा भित्र्याएर उनीसँग पुनः सम्बन्ध विस्तार गर्न तयार हुनेसम्भावना बढेको हो ।

युनाइटेडका अधिकारी, सेयर होल्डर र फ्यानहरूको ठूलो हिस्सा अहिले पनि रोनाल्डोलाई निकै चाहन्छन् । युनाइटेडबाटै रोनाल्डोको सिनियर क्लब करिअर उदाएकाले सो क्लब र त्यहाँका चिजसँग रोनाल्डोको भावनात्मक सम्बन्ध निकै प्रगाढ छ । यी सबै कुराले उचित समय र अवस्थामा रोनाल्डो प्रिमियर लिग फर्किने सम्भावनालाई विभिन्न फुटबल पण्डितहरूले पनि सम्भव देखेका छन् ।

यदि युनाइटेडले युभेन्टसको अवस्था बुझेर रोनाल्डोका लागि आदरपूर्वक रोनाल्डो फिर्ता गराउन प्रस्ताव गरे सो डिल हुने प्रबल सम्भावना रहेको बताइन्छ । अहिले रोनाल्डोका एजेन्ट मेन्डेजसँग युनाइटेडका अधिकारीले यस विषयमा प्रारम्भिक छलफल सुरु गरेको इंग्लिस मिडियाले जनाएका छन् ।

प्रकाशित मिति २७ कार्तिक २०७७, बिहीबार १९:०९
Loading...