रोनाल्डोमाथि प्रशिक्षक सान्तोषको शानदार टिप्पणी

एजेन्सी, कात्तिक २७
पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक फर्नान्डो सान्तोषले आफ्ना खेलाडी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । गत राति पोर्चुगलले घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा एन्डोरालाई ७–० ले हराएपछि मिडियासँग कुरा गर्दै सान्तोषले रोनाल्डो आधुनिक फुटबलका सबैभन्दा उत्कृष्ट खेलाडी रहेको बताउँदै उनको विन्दुमा कोही नपुग्ने बताए ।

गत राति रोनाल्डोले दोस्रो हाफमा मैदान छिरेर १ गोल र १ असिस्ट गरेका थिए । सो गोलपछि रोनाल्डोले पोर्चुगलका लागि गरेको कूल गोल संख्या १०२ पुगेको छ भने गत रातिको जितसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० खेल जितेर नयाँ कीर्तिमान पनि बनाए ।

‘कतिपय मानिसले यो अपेक्षा गरेका थिए कि, रोनाल्डोले आज सुरुआतबाटै खेलेर धेरै गोल गरुन् र नयाँ रेकर्ड अझै चाँडो बनाउन सकून् । तर, रोनाल्डोले नयाँ रेकर्डका लागि एन्डोराविरुद्ध धेरै गोल गर्नु आवश्यक छैन,’ खेलपछि सान्तोषले भने, ‘उनी अहिले नै सर्वाधिक गोलकर्ता हुन् । र, उनी जुन रेकर्ड नजिक छन्, त्यो उचित समयमा उचित मञ्चबाट पूरा हुन्छ । किनभने, यो धेरै चाँडो हुन गइरहेको छ,’ सान्तोषले भने, ‘क्रिस्टियानो सर्वश्रेष्ठ छन्, उनको विन्दुमा कोही पनि पुग्न सक्दैन ।’

सान्तोषले रोनाल्डो सधैं खेल्न, जित्न र टिमलाई सघाउन प्रतिबद्ध रहेको पनि बताए । ‘पछिल्लो समय कोरोना भाइरसको संक्रमण र पूर्ण फिटनेस नहुँदा उनले ठीकठाक खेल्न पाइरहेका छैनन् । तर, उनी सबै खेल खेल्न र जित्न चाहन्छन् । उनी ९० मिनेटको हरेक मिनेट र हरेक सेकेन्ड मैदानमा बिताउन चाहन्छन् । उनी सधैं टिमलाई सघाउन चाहन्छन्,’ सान्तोषले भने, ‘तब त उनी हाम्रा कप्तान हुन् ।’

प्रकाशित मिति २७ कार्तिक २०७७, बिहीबार १७:५८
Loading...