कतार विश्वकप छनौट : अर्जेन्टिना र पराग्वेको भिडन्त हुँदै

काठमाडौं, कात्तिक २७
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी तेस्रो चरणका खेल आज रातिदेखि सुरु हुँदैछन् । नेपाली समयअनुसार यी खेल भोलि (शुक्रबार) बिहानबाट सुरु हुनेछन् । तेस्रो चरणका खेल सुरु हुँदा पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा बोलिभिया र इक्वेडर आमनेसामेन हुँदैछन् ।

यो खेल बोलिभियाको घरेलु मैदानमा बिहानको राति १ः४५ बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा बोलिभिया यसअघिका २ वटै खेल हारेर सबैभन्दा पुछारमा छ । इक्वेडर दुईमध्ये एक खेल जितेर ३ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

दोस्रो खेलमा शुक्रबार बिहान अर्जेन्टिना र पराग्वे भिड्दैछन् । यो खेल नेपाली समयअनुसार बिहान ठीक ५ः४५ बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा अर्जेन्टिना अघिल्ला २ वटै खेल जितेर ६ अंकसहित दोस्रो स्स्थानमा छ । पराग्वे २ खेलमध्ये एकमा जित र एकमा बराबरी गरेर ४ अंकसहित चौथो स्थानमा छ ।

यस खेलका लागि अर्जेन्टिनाले पराग्वेलाई आफ्नो भूमिमा स्वागत गर्दा नियमित कप्तान लिओनल मेस्सीले टोली सम्हाल्नेछन् । यसअघि टोलीमा नडाकिएका एन्जल डि मारिया यसपटक टोलीमा छन् । यअसघि दुईमध्ये एक खेल गुमाएका पाउलो डिबाला यसपटक चोटका कारण टोलीमा छैनन् । सर्जियो अगुएरो यपटक पनि टोलीमा छैनन् । यसपटक मेस्सीलाई फ्रन्ट लाइनमा लौटारो मार्टिनेज र डि मारियाले साथ दिनेछन् ।

प्रकाशित मिति २७ कार्तिक २०७७, बिहीबार १५:५०
Loading...