रोनाल्डोका नाममा एकसाथ दुई रेकर्ड

काठमाडौं, कात्तिक २७
पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरमा दुई नयाँ रेकर्ड थपेका छन् । गत राति मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले एन्डोरालाई ७–० ले हराउनेक्रममा रोनाल्डोले १ गोल गरेका थिए । दोस्रो हाफमा मैदान छिरेका उनले ५६औं मिनेटमा १ गोलमा असिस्ट गर्दै ८५औं मिनेटमा १ गोल गरेका थिए । गत रातिको गोलसँगै ३५ वर्षका रोनाल्डोका नाममा एकसाथ दुई रेकर्ड थपिएका हुन् ।

पहिलो, रोनाल्डो पोर्चुगलका लागि १०० खेल जित्ने पहिलो खेलाडी बनेका छन् । गत राति एन्डोराविरुद्धको जित रोनाल्डोका लागि १००औं अन्तर्राष्ट्रिय जित थियो । उनले पोर्चुगलका लागि १६८ खेल खेल्दै १०० औं जितको कोसेढुंगा पूरा गरेका हुन् । यससँगै, उनी १०० अन्तर्राष्ट्रिय खेल जित्ने दोस्रो खेलाडी पनि बनेका छन् ।

दोस्रो, गत रातिको १ गोलसँगै रोनाल्डोले हंगेरीका लिजेन्ड खेलाडी फेरेन्क पुस्कासको गोल संख्यासँग पनि बराबरी गरेका छन् । हंगेरियन लिजेन्ड पुस्कासले आफ्नो करिअर दौरान क्लब र देशका लागि गरी कूल ७४६ गोल गरेका थिए । रोनाल्डोले गत राति १ गोल गर्दै पुस्कासको ७४६ गोलको रेकर्डसँग बराबरी गरेका हुन् ।

प्रकाशित मिति २७ कार्तिक २०७७, बिहीबार १०:२४
Loading...