अन्तर्राष्ट्रिय फुटबलमा आज पोर्चुगल र आन्डोरा भिड्दै

काठमाडौं, कात्तिक २६
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज पोर्चुगलले मैत्रीपूर्ण खेल आन्डोरासँग खेल्दै छ । यो खेलका लागि पोर्चुगलले आन्डोरालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल लिस्बन सहरस्थित इस्टाडियो डा लुुज रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

विश्व फुटबलमा पोर्चुगल र आन्डोरा यसअघि पनि पटक–पटक एकअर्काविरुद्ध खेलिसकेका टोलीहरू हुन् । फिफाको नयाँ विश्व वरीयतामा हाल पोर्चुगल पाँचौं स्थानमा रहेको छ भने आन्डोरा १४५औं स्थानमा छ । यसअनुसार पोर्चुगलका लागि आन्डोरा धेरै नै सहज प्रतिस्पर्धी टोली हो ।

यी दुई देश पछिल्लो समय सन् २०१७ मा खेलेका थिए । २०१८ को फिफा विश्वकपका लागि छनौट खेलअन्तर्गत यी दुई देश त्यसबेला खेल्दा पोर्चुगलले आन्डोरालाई उसकै घरमा ०–२ ले हराएको थियो । त्यसपछि यी दुई टिम पहिलोपटक आज राति मैत्रीपूर्ण खेलमा खेल्न लागेका हुन् ।

आज राति आफ्नो घरेुल मैदानमा पोर्चुगलले आन्डोराको सामना गर्दा क्रिस्टियानो रोनाल्डो पनि टोलीमा हुनेछन् । केही दिनअघि युभेन्टसमा खेल्नेक्रममा सामान्य चोट बोकेका उनले यो खेल बेन्चबाट खेल्नेछन् वा सुरुआतबाटै खेल्छन् भन्ने कुराको भने टुंगो छैन ।

यदि आज राति रोनाल्डोले सुरुआतबाटै खेले उनले गोल गरेर कूल गोल संख्या बढाउने अवसर छ । उनले हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा कूल १०१ गोल गरिसकेका छन् । उनी अब विश्व फुटबलमा इरानी अली डेईका नाममा रहेको कीर्तिमानी १०९ गोलको रेकर्ड बराबरी गर्न ८ गोल र तोड्न मात्रै ९ गोलले टाढा छन् ।

प्रकाशित मिति २६ कार्तिक २०७७, बुधबार १४:४३
Loading...